मंगलामा अनुदानमा कृषकलाई दिईएको सामग्रीको अनुगमन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा दिईएको सामग्रीको स्थलगत अनुगमन थालेको छ । आर्थिक बर्ष २०७७÷०७८ र २०७८÷०७९ मा कृषकलाई अनुदानमा वितरण गरिएको सामग्रीहरुको प्रयोग र अवस्थाको बारेमा सम्वन्धीत कृषकको घरघरमा पुगेर निरिक्षण गर्न थालिएको हो ।

मंगलाको पाँचवटै वडामा कृषि प्राविधिक र सम्वन्धीत वडाका जनप्रतिनिधिहरुको सहभागीतमा अनुगमन थालिएको कृषि शाखा प्रमुख प्रशान्त पौडेलले जानकारी दिनुभयो ।

मंगला १ मा कृषि प्राविधिक विक्रम बस्याल, वडा नम्वर २ मा प्रशान्त पौडेल, वडा नम्वर ३, ४ र ५ मा जगत बानियाँ र सिमा सुवेदीले सम्वन्धीत वडाका जनप्रतिनिधि समेतको उपस्थितिमा अनुगमन गर्ने व्यवस्था मिलाईएको छ ।

हाल वडा नम्वर १, २ र ५ मा अनुगमन कार्य संचालन गरिएको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो । यस लगत्तै मंगला ३ र ४ बरंजामा अनुगमन गरिनेछ ।

गाउँपालिकाले दुई आर्थिक बर्षमा ५० र ८५ प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर, थ्रेसर, प्लास्टिक टनेल, च्यापकटर, थोपा सिँचाई, मिल, प्लास्टिक पोखरी लगायतका कृषि औजारहरु वितरण गरेको थियो ।

अनुगमनको क्रममा किसानहरुले पालिकाबाट अनुदानमा प्राप्त गरेको सामग्रीहरु प्रयोग गरेको पाईएको प्राविधिक बानियाँले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आवमा वितरण गरिएको सामग्री मध्य टनेल र प्लास्टिक पोखरी भने प्रयोग नगरिएको पाईएको छ ।

कृषहरुले तल्लो क्षेत्रमा धान बाली र माथिल्लो क्षेत्रमा मकै तथा कोदो बाली भित्र्याएपछि मात्रै टनेल र प्लास्टिक पोखरी प्रयोग गर्ने अनुगमन टोली समक्ष प्रतिवद्धता जनाएका छन ।

गाउँपालिकाबाट अनुदानमा उपलव्ध भएको सामग्री तथा बिउबिजनहरुले कृषि कार्यमा सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको मंगला ५ धाराका कृषक ददिलाल सापकोटाले बताउनुभयो ।

व्यवसायीक कृषकहरुलाई प्रोत्साहन गर्दै उत्पादनमा वृद्धि गराउनका लागि पालिकाबाट अनुदानमा उपलव्ध गराईएको सामग्रीहरुको उचित प्रयोग भएको छ कि छैन भनेर प्राविधिकहरुलाई लाभग्राही कृषकहरुको घरघरमा अनुगमनका लागि खटाईएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।

‘प्रतिवेदन तयार गर्न भनेका छौँ, अनुगमनको क्रममा पालिकाले दिएको सामग्री सम्वन्धीत व्यक्ति संग नभेटिएमा त्यसपछिको सुविधा रोक्क गर्ने गरि कावार्ही गर्छौँ’ अधिकृत ढुङ्गानाले भन्नुभयो ।

पालिकाले यसअघिका आर्थिक बर्षमा कृषकहरुलाई ४० वटा थ्रेसर, २ सय वटा मिनिटेलर, ३० वटा मिल, १५ वटा च्यापकटर, ५० वटा थोपा सिँचाई, ४ सय वटा प्लास्टिक टनेल, ४० वटा प्लास्टिक पोखरी, ४० वटा स्प्रे टंकी अनुदानमा वितरण गरेको थियो ।

त्यस्तै ४ सय ५० किलोग्राम च्याउको बिउ, ७ सय प्याकेट किटनासक औसधि, सुन्तला, कागति, केरा, किबि लगायतका विरुवा ३५ हजार, र टिमुरका विरुवा २ हजार वितरण गरेको कृषि शाखाले जनाएको छ ।

You can share this post!

नेपाली कांग्रेसकाे पार्टी कार्यालय बनाउन २५ लाख बजेट

अधुरो प्रेम कथा भाग -१

Related posts