म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर २ रुमको तामेङमा अविरल बर्षाका कारण मंगलबार विहान पहिरो गई एकै परिवारका पाँच जनाको ज्यान गएको घटना प्रति जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले दुख व्यक्त गर्नुभएको छ ।
मंगलबार नै शोक वक्तव्य जारी गर्दै थापाले रुमको कहालीलाग्दो घटनाले स्तव्ध बनाएको भन्दै मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने मृतकका आफन्तहरुमा समवेदना प्रकट गर्नुभएको छ ।
समन्वय प्रमुख थापाले उक्त पहिरोमा परि घाईते हुनुभएका ६५ बर्षीय गोठे विक र उहाँकी श्रीमति ६२ बर्षीय गोरी विकको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । विपतको समयमा उद्धारमा खट्नुहुने प्रहरी, तथा स्थानीयहरुलाई थापाले आभार प्रकट गर्नुभएको छ ।
साथै प्रमुख थापाले बर्षाको समयमा जिल्लाका केही ठाउँहरुमा सडक अवरुद्ध बनेकाले उक्त सडकहरुलाई यथाशिघ्र संचालनमा ल्याउन समेत सम्वन्धीत वडा तथा पालिकाहरुलाई आग्रह गर्नुभएको छ । साथै थापाले बाढि पहिरोको जोखिम भएको ठाउँका नागरिकहरु सुरुक्षित रहन पनि अनुरोध गर्नुभएको छ ।
रुमको तामेङ गाल्डामा मंगलबार विहान घर माथिबाट आएको पहिरोले एकै परिवारका पाँच जनाको ज्यान गएको छ । पहिरोमा परि स्थानीय ३८ बर्षीय घाम बहादुर विक, उहाँकी श्रीमति राममायाँ विक, छोराहरु बर्ष १६ का नविन विक र बर्ष १४ का राजन विक र छोरी बर्ष ५ की रोजी विकको मृत्यू भएको थियो । मृतकहरुलाई मंगलबार दिउँसो नै गाउँमै दाहसंस्कार समेत गरिसकिएको छ ।