बेनी । हालै मात्र नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका पत्रकार ध्रुवसागर शर्मालाई युनियन म्याग्दी शाखाले सम्मान गरेको छ ।
केन्द्रीय सदस्य शर्मालाई प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार बिहान बेनीमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन सहित सम्मान गरेको हो ।
साउन सात गते हेटौंडामा सम्पन्न युनियनको नवौं राष्ट्रिय महाधिवेशनमा शर्मा केन्द्रिय सदस्यमा लोकप्रिय मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ ले शर्मालाई बधाई व्यक्त गर्नुभयो ।
उहाँले म्याग्दीबाट प्रेस युनियनको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकोमा खुशी व्यक्त गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । गर्बुजाले पत्रकारीता क्षेत्रको संरक्षण र प्रवद्र्धनको लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
जिल्लाको विकास, निर्माण, कला संस्कृति र समाजका विकृती विरुद्ध समेत निडर भएर कलम चलाउन उहाँले आग्रहगर्नुभयो । शर्माले महाधिवेशनमा साथ सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्तगर्दै संगठनलाई क्रियाशिल बनाउनका आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
लामो समय देखी म्याग्दीमा पत्रकारितामा क्रियाशिल शर्मा नेपालपत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्छ भने प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । शर्मा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स, इमेज टेलिभिजन, थाहाखवर रेडियो, अनलाईन लगायतका सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिका निवर्तमान मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, सचिब हिरा पुन, निवर्तमान प्रवत्ता अजयमिलन श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बिक्रम बोगटी, नेपाल तरूण दल म्याग्दीका उपाध्यक्ष तथा बेनी नगरकार्यपालिका सदस्य सोहन श्रेष्ठ, नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्री, लगायतको उपस्थिती रहेको थियो ।
प्रेस युनियन म्याग्दी शाखाका अध्यक्ष राकेश शर्माको अध्यक्षता र सचिब साधन राम्जालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।