म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको बार्षिक साधारण सभा तथा क्षेत्रीय कार्य समितिको प्रथम क्षेत्रीय भेला आयोजना हुने भएको छ । सिजोओका क्षेत्रीय कार्य समितिको आयोजनामा सिजोओकामा यहि साउन २८ गते (अगस्त १३) मा आयोजना हुने भेलाको तयारीलाई तिव्र पारिएको छ ।
जापानमा रहेका अन्य तीनवटा क्षेत्रीय कार्य समिति क्युसु, नागोया, र सेन्दाई सहआयोजकको रुपमा रहेका छन । चारवटै क्षेत्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, मोना जापानका पदाधिकारी, सदस्यहरु तथा अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अन्य म्याग्देलीहरुको पनि कार्यक्रममा सहभागीता हुने मोना जापानका महासचिव गणेश श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा मोना जापान केन्द्रीय कार्य समिति र क्षेत्रीय कार्य समितिको बार्षिक प्रगति विवरण प्रस्तुत गरिने छ । त्यसैगरि मोना जापानको भावि कार्ययोजना र नीतिको बारेमा पनि वृहत छलफल गरिने महासचिव श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमको मिति नजिकिदै गरेकाले पनि तयारीलाई तिव्र पारिएको क्षेत्रीय कार्य समिति सिजोओकाका संयोजक तुल चोचाङ्गीले बताउनुभयो । कार्यक्रमको प्रचार प्रसार, आर्थिक संकलन, हल व्यवस्थापन, आभास व्यवस्थापन, अतिथि स्वागत सत्कार लगायतका तयारीलाई तिव्र पारिएको उहाँले बताउनुभयो ।
अगस्त १३ एक दिन मात्र संचालन हुने कार्यक्रमलाई भव्य बनाउन विभिन्न मौलिक नृत्यहरु सहितको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ आयोजकले जनाएको छ ।