बेनी । मालिका प्रेस साप्ताहिक पत्रिकाको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबार देखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा विमोचन गर्नुभयो ।
गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहनेगरि पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो ।
बिमोचन कार्यक्रममा जिसस प्रमुख थापाले सूचना प्रबिधिको विकाससँगै औपचारिक सूचनाहरु अनलाइन र सामाजिक सञ्जालबाट प्रवाह हुनथालेकाले पत्रपत्रिकाले खोजमुलक विषयबस्तुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले पत्रिकाको फरक महत्व र विशेषताहुने भएकाले तथ्य र यथार्थपरक समाचार प्रकाशन गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी), नेशनल मंगोल अर्गनाइजेशनका जिल्ला अध्यक्ष डिके पुन, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाईका अध्यक्ष लेकबहादुर पुनले पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना दिनुभयो ।
प्रकाशक राम्जाली र प्रबन्ध निर्देशक धनीलाल गर्बुजाले ग्रामिण क्षेत्रका ओझेलमा परेका विषय बस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन राकेश शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बेनीनगर कमिटिका अध्यक्ष शेरबहादुर केसी, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई सचिव अमृत सापकोटा, समाजसेवीद्धय विरेन्द्र पुन, बेदप्रसाद सुवेदी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
मालिका प्रेस सहित हाल म्याग्दीबाट प्रकाशनहुने साप्ताहिक पत्रिकाको संख्या छ र दैनिकतीन वटा पुगेका छन् । यसअघि रिखार, रुप्से, म्याग्दी प्रेस दैनिक, नवविकल्प, समृद्ध बेनी, म्याग्दी सञ्चार र बुलबुल साप्ताहिक पत्रिका प्रकाशन हुदै आएका थिए ।