म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ काउलगौडामा रहेको काउलेगौडा युवा क्लव ( केवाईसी) को अध्यक्षमा राजिन पुरी चयन हुनुभएको छ । शनिबार क्लव भवनमा आयोजित छैठौँ अधिवेशनबाट उत्कृष्ट भलिबल खेलाडी तथा क्षेत्रीय रेफ्री पुरीले जिल्लामै चर्चित क्लव केवाईसीको नेतृत्व सम्हाल्नुभएको हो ।
क्लवको उपाध्यक्षमा नगेन्द्र बस्नेत, सचिवमा कुमार खत्री, कोषाध्यक्षमा मदन चोखाल, सहसचिवमा हरि खत्री र सदस्यहरुमा रक्षक बस्नेत र कमल बस्नेत चयन हुनुभएको छ । क्लवका उपाध्यक्ष तथा लगायत बहुमत सदस्यहरु विदेश तथा अन्य ठाउँहरुमा गएका कारण अधिवेशन गरि नयाँ कार्य समिति चयन गरिएको निबर्तमान अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।
नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई क्लवका संस्थापक अध्यक्ष तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले पद तथा गोपनियताको समथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थापक अध्यक्ष बानियाँले भलिबल खेलमा खेलाडी उत्पादन र खेल प्रदर्शनका हिसावले केवाईसी जिल्लाकै लोकप्रीय र चर्चित क्लव भएको बताउनुभयो ।
स्थापनाकालदेखि नै केवाईसीले खेलमा उपलब्धी हासिल गर्दैै राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय खेलाडी उत्पादन गर्दै अगाडी बढेको बताउनुभयो । क्लवको शाख र गरिमालाई जोगाई राख्न बानियाँले नवगठित कार्यसमितिलाई आग्रह समेत गर्नुभएको छ ।
२०६६ सालमा स्थापना भएको क्लवले भलिबल खेल क्षेत्रको विकास, खेलाडी उत्पादन, लोक संस्कृतिको संरक्षण तथा विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय भूमिका निभाउँदै आएको छ ।
क्लवका नवनिर्वाचित अध्यक्ष पुरीले खेलक्षेत्रको विकास र सामाजिक सेवामा क्रियाशिल रहदै युवाहरुको क्षमता अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकास तथा विभिन्न जागरण र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।