म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई कार्यालयमा स्वागत गरेको छ । शनिबार मन्त्री गुरुङ म्याग्दी आउनुभएको अवसरमा संघका अध्यक्ष तेजेन्द्र बानियाँले फुलमालाले स्वागत गरि मायाको चिनो प्रदान गर्नुभएको हो ।
भेटघाट कार्यक्रमको अवसरमा अध्यक्ष बानियाँले आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगीता म्याग्दीमा संचालन गर्ने व्यवस्था मिलाईदिन मन्त्री गुरुङ समक्ष माग गर्नुभएको छ ।
म्याग्दी जिल्ला भलिबल खेलको उर्वरभूमि भएको र भलिबल खेल यहाँका युवाहरुमाझ अति नै लोकप्रीय भएको भन्दै अध्यक्ष बानियाँले जिल्लाबाट खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुगेको अवगत गराउनुभएको थियो ।
राष्ट्रिय महिला भलिबलको टिम कप्तान अरुणा शाहीको जन्मथलो समेत म्याग्दी भएको भन्दै नवौँ राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोगीता संचालन गर्न म्याग्दी जिल्ला सक्षम र इच्छुक रहेकाले अवसर प्रदान गरिदिन संघले आग्रह गरेको छ ।
भेटको अवसरमा मन्त्री गुरुङले म्याग्दीमा राष्ट्रिय खेल संचालनका लागि सम्वन्धीत निकायसंग समन्वय गरि वातावरण सृजना गराउने र यसका लागि आफ्नो तर्फबाट पुरा सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ ।
साथै मन्त्री गुरुङले नवौँ खेलमा म्याग्दीबाट पनि १ जनालाई भोलेन्टियर प्रशिक्षकको मौका दिने आश्वासन समेत दिनुभएको संघका महासचिव कुमार किसानले बताउनुभयो ।
खेल संचालनका लागि आवश्यक आधारहरु जिल्लामा तयार रहेकोले व्यवस्थापनका कार्यहरु पनि उत्कृष्ट गराउने गरि प्रस्ताव गरिएको महासचिव किसानको भनाई छ ।
हालै मात्र स्थापना भएको कार्यालयमा फर्निचर स्टेश्नरी लगायतका आवश्यक सामग्रीहरु संघकै पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त सहयोगले जुटाइएको पनि भलिबल संघले जानकारी गराएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष राजकुमार भण्डारी, कोषाध्यक्ष विष्णु रोका, कार्यसमितिका सदस्य तथा भलिबल खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।