गृह मन्त्रालय नेविसंघले त्रिविमा लगाएको ताला हेरेरमात्र बसेको छः पदम गिरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पदम गिरीले त्रिभुवन विश्वविद्यालयमा देखापरेको विवादको समाधान गर्न सरकारले कुनै चासो नदेखाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रबार भएको प्रतिनिधिसभा बैठकमा गिरीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्नुको सट्टा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री मुकदर्शक बनेर बसेको आरोप लगाउनुभयो । विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय गृह मन्त्रालयले सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघले लगाएको ताला हेरेर मात्र बसेको उहाँको भनाइ छ ।

आक्रमणकारीहरुलाई धरौटीमा छुटाउन खर्च भएको पैसासमेत विश्वविद्यालयले तिर्नु पर्छ भन्ने अर्थहीन माग राखेर त्रिवि बन्द गरिएको गिरीको भनाइ छ ।

‘भदौ ८ गते विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा गएर नेविसंघ तोडफोड गर्छ । टेबलमा जुत्ता राखिएको हुन्छ । पुलिस मुकदर्शक भएर हेर्छ । यस्तो दुरवस्था विश्वविद्यालयको छ’, उहाँले भन्नुभयो ।

नेविसंघले विश्वविद्यालयका महत्वपूर्ण कागजातसमेत जफत गरी केही समयपछि शिक्षामन्त्रीलाई बुझाएको सांसद गिरीले दाबी गरेका छन् । सभामुखले भदौ १३ गते त्रिभुवन विश्वविद्यालय खुलाउन रुलिङ गरे तापनि प्रधानमन्त्री, शिक्षामन्त्री र गृह मन्त्रालयले यसमा कुनै चासो नदेखाएको गिरीले बताउनुभयो ।

विश्वविद्यालय बन्द हुँदा यसले देशलाई दूरगामी असर पार्ने भन्दै उहाँले यस सन्दर्भमा सभामुखले फेरि रुलिङ गर्नुपर्ने माग समेत गर्नुभयो ।

You can share this post!

मिडिया काउन्सिल विधेयक संसदमा, पत्रकारलाई १० लाखसम्म जरिबाना गर्ने अधिकार

गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण, ६ खेलाडी छनौट

Related posts