म्याग्दी । ५८ औँ राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रगी वितरण गरेका छ । बेनी नगरपालिका–७ स्थित मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदरसा प्राविका बालबालिकालाई १० हजार बराबरको कापी, कलम, लगायतका शैक्षिक साम्रागी वितरण गरिएको हो ।
कार्यक्रममा मुस्मिल अगुवा रहमत खानले मुस्लिम समुदायको धर्म, सस्कार तथा परम्पराको जगेर्ना गर्न तथा नयाँ पिँढीलाई सिकाउनका लागि पनि मदरसा शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक जनशक्ती लगायतको ब्यवस्थापनमा समेत सरकारले थप सहयोग गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा बेनी नगरपालिका शिक्षा शाखाका प्रमुख कमलप्रसाद ढकालले सरकारले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरीदका लागि अनुदान उपलब्ध गराउँदै आएको भएपनि प्रयाप्त नभएको बताउनुभयो । शैक्षिक साम्रगी वितरण पश्चात आयोजित कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले सबै समुदाय तथा क्षेत्रका बालबालिकालाई समेटी विभिन्न गतिविधिहरु संचालन गरिएको बताउनुभयो ।
सोही अवसरमा मदरसाका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । सहयोग हस्तान्तरणको अवसरमा मुस्लिम समाज म्याग्दीका कोषाध्यक्ष दाउद खान लगायत मुस्लिम अगुवाहरूको उपस्थित रहेको थियो । कार्यालयका योजना शाखा प्रमुख बाबुराम आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यार्थीको चाप भएपनि मदरसाको भौतिक पूर्वाधार निर्माणमा ठोस योजना र कार्यक्रम नभएकाले विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । यसबर्ष बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहले ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ बाल दिवस मनाएका छन् ।