म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको गलेश्वर देखि रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती हुँदै बेग जोड्ने सडक निर्माणमा भएको ढिलाई प्रति रघुगंगा गाउँपालिका वडा नम्वर २ र ३ को कार्यालयले ध्यानाकर्षण गराएको छ ।
बुधबार वडा नम्वर २ का अध्यक्ष अमृत भण्डारी र वडा नम्वर ३ का अध्यक्ष खिम बहादुर शाहीले उक्त सडकको निर्माण कार्य यथाशक्य चाँडो सुचारु गराउन पूर्वाधार विकास कार्यालय म्याग्दीमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
‘रघुगंगा गाउँपालिकाको वडा नम्वर ३, २ र १ सम्मको निर्माणाधिन गलेश्वर पिप्ले भगवती हुँदै बेग जाने ग्रामिण कृषि सडक तोकिएको समयावधि भित्र निर्माण नभएको कारणले त्यस क्षेत्रका स्थानीयबासीहरुले सास्ती भोग्नु परेको छ, यस सडकको निर्माण कार्य तुरुन्त सुचारु गराउन पहल गरिदिन अनुरोध छ’ ध्यानकर्षणपत्रमा भनिएको छ ।
विगत ३ बर्षदेखि यो सडक आयोजना अलपत्र परेको छ, बजेट प्राप्त भएर पनि समयमै काम नहुनु ठेकेदार कम्पनिको गम्भिर लापरवाही हो, रघुगंगा २ भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले भन्नुभयो । साथै सडक निर्माणका क्रममा कुनै समस्या आएमा वडा कार्यालयले आवश्यक सहयोग तथा समन्वय गर्ने पनि वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
कालोपत्रे गर्न ठिक्क परेको सडक विचैमा रोकिदा यस क्षेत्रका जनता निरास भएका छन । सम्वन्धीत ठेकेदार कम्पनीलाई ताकेता गरि काममा फर्काउन पूर्वाधार कार्यालयलाई आग्रह गरिएको वडा नम्वर ३ का अध्यक्ष खिम बहादुर शाहीले बताउनुभयो ।
पुर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले पिप्लेदेखि भगवती सम्मको सडक कालोपत्रकोे काम तत्काल अगाडी बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताउनुभयो । ‘कार्यक्षेत्रमा खटिन हामीले पटक पटक पत्र काटेका छौँ, सम्भवत यहि महिनाको अन्तिमतिरबाट काम सूचारु हुन्छ’, अधिकारीले भन्नुभयो ।
अहिले पिप्ले देखि भगवती सम्मको खण्डमा निर्माणको कार्य संचालन हुने उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम अन्तर्गत वि.स. २०७६ देखि सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना एपेक्स खड्का कृष्ण जेभिले रु १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरको थियो ।
पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा संचालित अयोजनामा हाल सम्म सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका कामहरु भएका छन ।