म्याग्दी । दिदी बहिनी बचत तथा क्रृण सहकारी संस्था लि बेनीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन विभिन्न व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
शनिबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा सहकारीमा स्थापना गरिएको तेजकुमारी गैरे (रुविना) स्मृति कोषबाट म्याग्दी बहुमुखि क्याम्पस बेनीमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी सुन्दर खत्रीलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
जसअन्तर्गत १ हजार ३ सय रुपैयाँको शैक्षिक सामग्री र ४ हजार २ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष विष्णु गौतम सापकोटाले जानकारी दिनुभयो ।
उक्त शैक्षिक सामग्री र चेक स्व. रुविनाको दाजु जगत गैरेले विद्यार्थी केसीलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग प्रदान गर्दै गैरेले कलिलै उमेर संसार त्यागेर गएकी बहिनीको सम्झनामा स्थापना गरिएको कोषबाट उक्त सहयोग प्रदान गरिएको बताउनुभयो ।
सहयोग ग्रहण गर्दै खत्रीले प्राप्त सहयोगले उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने भन्दै सहकारी तथा स्व.रुविनाको परिवारलाई आभार प्रकट गर्नुभएको थियो ।
कोषको व्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई सहयोग गरिदै आएको छ । साथै सहकारीले नियमति रुपमा संचालन गर्दै आएको मुष्ठिदान वितरण कार्यक्रमबाट मालिका गाउँपालिका ७ विम बस्ने सुरेश थापालाई उपचारका लागि रु ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
थापाको मोटरसाईकल दुर्घटनामा परि मेरुदण्डमा चोट लागेको र फोक्सोमा समेत समस्या देखिएकाले उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि सहयोग उपलब्ध गराईएको सहकारीले जनाएको छ ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष सापकोटाले सहकारीका शेयर सदस्य स्व. रुविनाको स्मृति दिवसको अवसर समेत पारेर कोषबाट सहयोग प्रदान गरिएको बताउनुभयो ।
‘उहाँको शरिर हामी माझ नभएपनि सम्झनामा सधैभरि रहिरहनुहुन्छ, मृत्यु पश्चात पनि पूण्य कार्य गरि उहाँको आत्मालाई शान्ति दिलाउने गरि हामीले मानवीय सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छौँ’, अध्यक्ष सापकोटाले भन्नुभयो ।
कार्यक्रम सहकारीका अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत र सचिव जगत कुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमका सहभागीहरुले मैनबत्ती बालेर स्व. रविना गैरेको सम्झनामा मौनधारण समेत गरिएको थियो । सहकारीका शेयर सदस्य गैरेको २०७३ मंसिर १९ गते अल्पायुमै अकल्पनीय निधन भएको थियो ।