बेनीको खुल्लामञ्चमा प्याराफिट विस्तार कार्यको शिलान्यास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –७ मा रहेको खुल्लामञ्चमा प्याराफिट विस्तार योजना सुरु भएको छ । मंगलबार बेनी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष तथा बेनी नगर कार्यपालिकाका प्रवक्ता रमेश कुमार श्रेष्ठले निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

चालु आर्थिक बर्षमा बेनी नगरपालिकाबाट विनियोजित ५० लाख रुपैयाँ बजेटबाट सो आयोजना सुरु गरिएको हो । प्याराफिट निर्माणका लागि उत्तर गंगा निर्माण सेवा संग ३५ लाख ९३ हजार १०१ रुपैयाँमा मंसिर पहिलो सातामा ठेक्का सम्झौता भएको छ ।

यसअघि निर्माण गरिएको प्याराफिटको छेउबाट भगवति मन्दिर नजिक खवरा तर्ने झोलुङ्गे पुल सम्मको ३५ मिटर लम्वाईमा ४ तह रहेको प्याराफिट निर्माण कार्य सुरु गरिएको बेनी नगरपालिकाका इन्जिनियर गोपाल मगरले बताउनुभयो ।

प्याराफिट देखि तल्लो भागमा १५० मिटर लम्वाई र ५ फिट अग्लो मेसिनरी वाल उठाईएको छ । रकम अपुग हुने भएकाले नगरपालिकाको हिउँदे अधिवेशनबाट आवश्यक बजेटको व्यवस्थापन गर्ने गरि काम अगाडि बढाईएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
मञ्चको बायाँ तिर काली गण्डकी नदि किनारबाट पिल्लर उठाई ग्राउन्डको लेभल सम्म ल्याउनका लागि गण्डकी प्रदेश सरकारबाट जिल्ला खेलकुद विकास समिति मार्फत प्राप्त भएको रु ८ लाख रुपैयाँको बजेटले काम भईरहेको प्रमुख केसीले बताउनुभयो ।
यहि पौष २८ गतेदेखि सुरु हुने सातौ म्याग्दी महोत्सवलाई सहज हुने गरि काम गर्न ठेकेदार र कामदार कार्यक्षेत्रमा खटिएको केसीले बताउनुभयो ।

आगामी चैत्र मसान्त सम्म सम्झौता भएको आयोजनालाई सम्झौता अगावै निर्माण कार्य सम्पन्न गर्ने गरि दु्रत गतिमा निर्माण कार्य थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष तथा प्रवक्ता रमेश कुमार श्रेष्ठले खुल्लामञ्चलाई म्याग्दी जिल्लाकै गौरवको रुपमा लिएर मिनी रंगशाला बनाउने अभियान अन्तर्गत प्याराफिट निर्माणकार्यलाई तिव्रता दिएको बताउनुभयो । उहाँले खुल्लामञ्चलाई आकर्षक खेलमैदान बनाउनका लागि नगरपालिकाले प्राथमिकतामा राखेर योजना सञ्चालन गर्ने पनि बताउनुभयो ।

शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य सृजना श्रेष्ठ, मन कुमारी विश्वकर्मा, बेनपा ७ का वडा सदस्य रमेश फगामी, सोहन श्रेष्ठ, इन्जिनियर गोपाल मगर लगायतको उपस्थिति रहेको थियो ।

बेनीको खुल्ला मञ्चलाई विस्तार र स्तरउन्नति गर्ने योजना बजेट अभावका कारण अघिल्लो दुई आर्थिक बर्षमा अलपत्र बनेको थियो ।
जिल्ला सदरमुकाम बेनीमा फुटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स खेलहरुका साथै मेला महोत्सव तथा ठुला सार्वजनिक कार्यक्रमहरु संचालन हुने एकमात्र ठाउँ खुल्लामञ्चलाई व्यवस्थित र फराकिलो बनाउने गरि नगरपालिका मार्फत निर्माण योजना संचालन गरिएको हो ।

You can share this post!

जेसीजद्वारा हिमालय आधारभुतका विद्यार्थीलाई न्यानो पोसाक वितरण

नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

Related posts