म्याग्दी । सहकारीको दिगोपनः स्वनियमन सुशासन भन्ने मुख्य नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा भव्यताका साथ मनाईएको छ । सोमवार जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाईएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले सहकारीले उत्पादनमुखि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । युवाहरुलाई स्वरोजगार बन्न तथा उद्यमशिल बन्नका लागि सहुलियत व्याजदरमा लगानी गर्ने नीति सवै सहकारीहरुले बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
सदस्य भण्डारीले पछिल्लो समय सहकारीहरु समस्यामा परेको र बचतकर्ताको रकम समेत फिर्ता गर्न नसकेको गुनासो आईरहेकाले सुरक्षित बचतको प्रत्याभुति सहित व्यवस्थापन पक्षलाई सवल बनाउन आव्हान समेत गर्नुभयो । साथै सहकारीलाई सघाउने खालका नीति बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख डिल कुमारी खत्रीले महिलाहरुलाई क्षमता र नेतृत्व विकासमा सहकारीहरुले उल्लेख्य भूमिका निभाउदै आएको प्रति खुसि व्यक्त गर्नुभयो । सहकारीले सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराएको, आयाआर्जनका गतिविधिहरुमा प्रत्यक्ष सघाएको भन्दै एकघर एक सहकारी सदस्य अभियानलाई प्राथमिकता राखेर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।
बेनी नगरपालिका प्रमुख सुरत केसीले बेनी नगरपालिकाले अनुगमन गर्ने क्रममा सहकारीहरुको थुप्रै समस्याहरु भेटिएकाले उपप्रमुखको नेत्वमा रहेका विज्ञ सहितको टोलीले समस्याको पहिचान गरि सुझाव सहित पत्रचार गर्ने त्यसलाई समाधानका लागि निर्देशन गरेको बताउनुभयो । संचालकहरु गैरजिम्मेवार भएकाले पनि सहकारी घाटामा जाने वा लगानी डुव्ने समस्या भएको उल्लेख गर्दै नगर प्रमुख केसीले घरघडेरी जोड्नतर्फ भन्दा सदस्यहरुको आर्थिक उन्नतिका विषयमा सहकारीले चासो दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्यानेजर क्लवका अध्यक्ष प्रेमलाक कँडेल लगायते बोल्नुभएको थियो । सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र वेनी नगरपाकिला वडा नम्वर ८ का सदस्य याम बहादुर बानियाँ सम्मानित हुनुभएको हो । लामिछाने दिदी बहिनी बचत तथा क्रृण सहकारी संस्थाका निवर्तमान अध्यक्ष र बानियाँ विश्वामित्र बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै दिदीवहिनी सहकारीले बेनी नगरपालिका ५ का विपन्न सम्मर बहादुर सार्कीको परिवारलाई रु ५ हजार ५ सय ५५ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । कार्यक्रम व्यवस्थापनमा सहयोग गरेको भन्दै संघले दिदी बहिनी सहकारीलाई प्रशंसा पत्रले पुरस्कृत गरेको छ भने प्रभातफेरी कार्यक्रममा सहभागी सहकारी संस्थाहरुलाई धन्यवाद सहित प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की विखर्चीको अध्यक्षता र सह सचिव गंगा बानियाँको संचालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरुहुनुपूर्व सहकारी संस्थाहरुको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो । त्यसैगरि जिल्लाका पालिकाहरुमा संचालनमा रहेका सहकारीहरले पनि विभिन्न कार्यक्रमको आयोजना गरि सहकारी दिवस मनाएका छन ।