अन्नपूर्णमा साढे ५३ करोडको बजेट पारित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५ करोड ५१ लाख ५९ हजार ६०० र पुजिगततर्फ रु.१८ करोड दुई लाख ८४ हजार बजेट बिनियोजन भएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

रु. एक करोड ४७ लाख १० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको अन्नपूर्णले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको रु. छ करोड २५ लाख ६ हजार अल्या बजेटलाई पनि बजेटको स्रोत मानेको छ । संघीय र प्रदेश सरकारले दिने अनुदान बजेटको प्रमुख स्रोत हो ।

चालु आर्थिक वर्षमा रु. ४८ करोड ६१ लाख ४२ हजार ५७९ बजेट बिनियोजन गरेको अन्नपूर्णले जेठ मसान्तसम्म कुल ५३ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास शिर्षकमा रु. २१ करोड १९ लाख ४१ हजार ५०० रुपैयाँ बिनियोजन भएको छ । शिक्षामा सिकाई कुना निर्माण गर्न, हाम्रो विद्यालय राम्रो विद्यालय, अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्यतर्फ गर्भवतीलाई अण्डा, सुत्केरीलाई भाले, घ्यू, बच्चालाई कपडा, पोषण पोका वितरण कार्यक्रमलाई आमासँग जनप्रतिनिधि कार्यक्रम बनाएको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रु. एक करोड ४३ लाख ५० हजार बिनियोजन गरेको छ । सुनौलो हजार दिनका आमाहरुको पोषण सुधारका लागि रु. दश लाख बिनियोजन भएको छ ।

युवा लक्षित कार्यक्रमलाई रु. ५८ लाख ५० हजार, लैगिङ्गक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा रु. ८३ लाख २० हजार बिनियोजन भएको छ । एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम बनाएको अन्नपूर्णले यातायात पूर्वाधार निर्माण गर्न रु. चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको छ ।

एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण गर्न रु. ४४ लाख पाँच हजार र गोर्खा वेल्फेयरसँगको साझेदारीमा निर्माण हुने खानेपानी आयोजनाहरुका लागि थप रु. एक करोड ७२ लाख ९३ हजार ५९४ बिनियोजन भएको छ । आर्थिक विकासका क्षेत्रमा रु. दुई करोड ४० लाख बिनियोजन भएको छ । कृषिका लागि रु. एक करोड ३६ लाख १२ हजार र पशु सेवाका लागि रु. ४५ लाख ५५ हजार बिनियोजन भएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न रु. ३१ लाख, गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई रु. २३ लाख २० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ५६ लाख ८५ हजार बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पश्चात पारित भएको छ । गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको छ ।

त्यस्तै वडा नम्वर ६ का वडा सदस्य पुष्पा बानियाँ बरुवालको संयोजक रहेको लेखा समिति, वडा नम्वर ७ का अध्यक्ष मईलन पूर्जा संयोजक रहेको विधायन समिति र वडा नम्वर ८ का वडा सदस्य देव कुमारी खोरजा संयोजक रहेको सुशासन समिति पनि गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

गाउँसभाले वडा नम्वर ७ को केन्द्र महभिर रहने निर्णय समेत गरेको छ । यस अघि नेपाल सरकारले टिकोटलाई केन्द्र निर्धारण गरिदिएको थियो । वडा नम्वर ५ लाई विभाजन गर्न नेपाललाई सरकारलाई प्रस्ताव गर्ने निर्णय भएको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गादाताले निशुल्क उपलब्ध गराउने जग्गा स्वीकार गर्ने निर्णय गरेको छ । मुआव्जा तिर्ने गरि केही जग्गा शसुल्क रुपमा लिने र जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढाउने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

 

You can share this post!

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम संचालन

Related posts