म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसले क्याम्पसको खाली जग्गाको सदुपयोग गर्न फलफूल खेती सुरु गरेको छ ।
क्याम्पसको भौतिक संरचना, खेलमैदान सहित प्रयोग हुने जमिन बाहेक करिब ४ रोपनी जमिनमा माटो सुहाउँदो फलफुल रोपण कार्य सु्रु गरिएको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आफ्नो जन्मदिनको अवसरमा फलफुलको बिरुवा रोपणको अभियानसँगै क्याम्पस प्रशासन लगायत विभिन्न निकायको सहयोगमा बाँझो जमिनको सदुपयोग गदैं विभिन्न प्रजातिको फलफुल लगाउन थालिएको क्याम्पस प्रमुख पृतम बहादुर खत्रीले बताउनुभयो ।
‘क्याम्पसको प्राङ्गनको माथिल्लो क्षेत्रमा फलफुल खेती सुरु गरिएको छ, पहिलो चरणमा करिब ८० बोट लगाइयो’ प्रमुख खत्रीले भन्नुभयो । उहाँको अनुसार क्याम्पसका स्टाफ, विद्यार्थीबाट एक ब्यक्ति एक फलफुलको बिरुवा रोपण अभियान सञ्चालन गरी रेखदेख सहितका प्राविधिक सहयोगमा स्वतन्त्त विद्यार्थी यूनियनको सहयोग लिने बताउनुभयो ।
अभियानको पहिलो दिन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उत्पादनमार्फत समृद्धिको बाटोमा रहेको गाउँपालिकाले फलफूल खेती कार्यक्रमलाई सघाउने बताउनुभयो । उहाँले क्याम्पसभित्रको माटोमा उत्पादन हुने विभिन्न प्रजातिका फलफुलका बिरुवाहरु रोपणसँगै नियमित संरक्षणका कार्यक्रमहरु समेत गर्नुपर्ने बताउनुभयो ।
क्याम्पसका सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ४ रोपनी जग्गाभित्र प्राविधिकको सहयोगमा जैविक मलको प्रयोग सहित सीप विकास र प्रवद्र्धनका लागि गाउँपालिका र सरकारी निकायको समेत सहयोगको प्रतिबद्धता रहेको बताउनुभयो । क्याम्पसले पहिलो चरणमा आँप, लिची, कागती,अम्बा,कटुसु,एभोगाडा लगायतका विभिन्न प्रजातिको फलफुल रोपण गरेको छ ।
भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्यूएए) प्रमाणपत्र प्राप्तीको अभियानमा समेत जुटेको छ । समुदायको सक्रियतामा ३३ रोपनी जमिन खरिद गरेको क्याम्पसको भबन, प्रशासनिक भवन, छात्राबास बाहेक अन्य संरचनाहरु आसपासका साथै माथिल्लो क्षेत्रमा रहेको खरबारीमा समेत आयआर्जनमा सघाउने गरी यो बर्षभरी विभिन्न प्रजातिको फलफुल तथा औषधीजन्य हर्बल विरूवा रोपण गर्ने जनाएको छ ।