म्याग्दी । रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवले विपन्न परिवारलाई सहयोग गरेर स्थापना दिवस मनाएको छ । क्लववे १४ औं स्थापना दिवसको अवसरमा आइतवार क्यान्सर पीडितलाई आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको हो ।
सामाजिक कार्यमा सक्रिय रहेको क्लवले यस वर्षको बार्षिक उत्सवको अवसरमा क्लवका निर्वतमान अध्यक्ष छमन पुनले काठमाण्डौमा उपचार गराईराख्नुभएकी स्तन क्यान्सर पीडित सगुन शेरपुञ्जालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
क्लव अध्यक्ष तिपेन पुनको नेतृत्वमा गाउँमा रहेको विपन्न परिवारका सदस्य मातविर बिकलाई ओढ्ने ओछ्याउने फाईबर सिरक, सिरानी र डस्ना सहयोग उपलब्ध गराईएको छ ।
खेलकुद तथा सांस्कृतिक कार्यक्रमसंगै सामाजिक कार्यमा सक्रिय रहेको क्लवले आगामी दिनमा सामाजिक सेवाका गतिविधिहरुलाई निरत्नर अगाढि बढाउने योजना बनाएको अध्यक्ष पुनले बताउनुभयो ।
२०६६ सालमा स्थापना भएको यस क्लवले दुईवटा क्लव भवन र सुविधासम्पन्न खेलकुद मैदान निर्माण गरेको छ । समाजमा हुने विभिन्न घटनामा आर्थिक तथा भौतिक सहयोगमा क्लवका युवाहरु सक्रिय रहेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।