नेताको फेरिएको दैनिकीः ‘राजनीति संगसंगै आरन पेसामा सक्रिय’

बेनी, १९ असोज ः मालिका गाउँपालिका–६ दरबाङका छबि विश्वकर्माको दैनिकी फेरिएको छ । उमेरले पचास बर्ष पार गर्नुभएका विक राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।

पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने विश्वकर्माको दैनिकी अहिले भने आरन पेशामा रुपान्तरण भएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर विश्वकर्माले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ ।

विहान देखि बेलुकीसम्मको अधिकाँश समय विश्वकर्माले आरनमा नै विताउनुहुन्छ । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उहाँको दैनिकी हो ।

वि.स. २०७५ सालदेखि नै पार्टी राजनीति संगसंगै आरन उद्योगमा समेत उहाँले आफै काम गर्न थाल्नुभएको थियो । करिब १ रोपनी जग्गामा मासिक रु ७ हजार शुल्क तिर्ने गरि भाडामा लिनुभएका विश्वकर्माले आरन उद्योग संगसंगै सामाग्री विक्रि कक्ष समेत सञ्चालन गर्नुभएको छ ।

केहि बर्ष अघि सम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने विश्वकर्मा अहिले आफ्नौ पौरखको पेशामा फर्कनु भएको छ । ‘‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाँही पार्टीको बैठक, भेला, प्रशिक्षणहरुमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दीन, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु’’– उहाँले भन्नुभयो ।

जिल्लामा पार्टी संगठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधि समेत कम हुने र घरपरिवारको जिविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेशा–व्यावसायको रुपमा रोज्नुभएको थियो । सङ्घीयता नआउँदै जिल्ला स्तरमा राजनीतिक दलका नेताहरु बैठक, अन्तरक्रिया, सभा, समारोह, योजना अनुगमन लगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भएपनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्ला स्तरीय नेताहरुको भूमिका खुम्चिएको छ ।

पार्टी काम बाहेक अन्य समय फुर्सदीलो हुने भएकाले आफुले आरन उद्योग खोलेको नेता विश्वकर्मा बताउनुहुन्छ । सुरुवातमा रु तीन लाख लगानीबाट आरन सञ्चालन गर्नुभएका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरण समेत गर्नुभएको छ । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भएपनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रम अन्तरगत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामाग्री निर्माण हुने गरेको छ । उद्योगमा आफु संगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताउनुभयो । एक्लैले सामाग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेशा अङ्गाल्नै प¥यो, आफुले गरेको पेशाले पुख्र्यौली पेशाको संरक्षण र कृषि उत्पादनमा टेवा पु¥याओस भन्ने चाहनाले आरन खोलेको हुँ’’– विश्वकर्माले भन्नुभयो । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको विश्वकर्मा बताउनुहुन्छ । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुबा,आमा, दुई छोरा र श्रीमती सहित छ जनाको परिवारको जिविकोपार्जन हुँदै आएको छ ।

आरनमा आबश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामाग्री र औजारहरुको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामाग्रीको मुल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाईएको सामाग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मुल्यका सामाग्रीसंग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको उहाँको अनुभव छ ।

परम्परागत शिपको उपयोग हुने आरन पेशा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस भन्ने उदेश्यले अरु पेशा व्यवसायको विकल्प हुँदा हुँदै आरनमा लागेको विश्वकर्माले बताउनुहुन्छ । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ बर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भीक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिनुभएका विश्वकर्माले ७ बर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रुपमा परिचित हुनुहन्छ । राससमा प्रकाशित

You can share this post!

वाईसियल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पार्टीलाई जनमुखी बनाउने प्रतिवद्धता

Related posts