म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा रहेका अव्यवस्थित संरचनाहरुलाई धमाधम भत्काउन थालेको छ । सार्वजनिक रुपमा सुचना गर्दै पटकपटक गरिएको अनुरोधलाई पनि अटेर गरेका अतिक्रमित जग्गा र अव्यवस्थित रुपमा बनाईएका सडक पेटी भत्काउने कार्यलाई नगरपालिकाले तिव्रता दिएको छ ।
बर्षौदेखि आफुखुसी नगरपालिकाको मापदण्ड मिचेर सडक अतिक्रमण गरि संरचना बनाउने क्रम बढेपछि डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको बेनी नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन डोजर र नगर प्रहरीलाई परिचालन गरिएको छ । वडाका जनप्रतिनिधिहरुले पनि चासोका साथ कार्य स्थलमा पुगेका छन । नगरप्रमुख केसीले शिक्षामार्गमा रहेको आफ्नो घरको पेटि तथा आफ्नो लगानी समेत रहेको महारानीथान स्थित माउण्ट एभेरेष्ट आवासीय माविकोले सडक मिचेर बनाएको पर्खाल भत्काएर अव्यस्थित संरचना हटाउने अभियानको सुरुवात गर्नुभएको थियो ।
नगरपालिकाले वडाका जनप्रतिनिधि सहितको टोली खटाएर करिव ५ महिना अगाडी घरमा मोटरसाईकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रुपमा बनाईएका सडक पेटी आफै हटाउन भनि सार्वजनिक रुपमा रेडमार्क लगाएपनि घरधनीले अटेर गरेपछि नगरपालिकाले आफैले वाध्य भएर डोजर चलाएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको बेनी नगरप्रमुख केसीको भनाई छ ।
उहाका अनुसार बेनी बजारभित्र अव्यवस्थित सडक पेटी हटाउन घरधनीले सहयोग गरे थप सहज हुने छ । हाल बेनी नगरपालिका वडा नम्वर ८ हस्पिटलचोक र पिपलचोक लगायतका स्थानमा रहेका अव्यवस्थित संरचनालाई हटाईएको छ ।
यो अभियानलाई नगरपालिका भित्रका सवै अतिक्रमित जग्गा भत्काएर निजी प्रयोजनमा रहेका संरचना सार्वजनिक हितमा प्रयोग हुने सुनिस्चित सहित मात्रै रोकिने नगरपालिकाले जनाएको छ ।
बजार क्षेत्रमा साघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना पाली बनाएपछि पैदलयात्रीहरुलाई हिँडडुल गर्न समेत सास्ती भएको छ । नगरपालिकाले बजारक्षेत्रमा अव्यवस्थित रुपमा रहेका विजुली, केवल र ईन्टरनेटका पोल तथा तारसमेत यसअघिनै व्यवस्थित गरिसकेको छ ।
नगरपालिकाले यो आर्थिक वर्षभित्र सवै संरचना हटाउने अभियान अन्तर्गत विरेन्द्रचोकमा रहेका १५ वटा सटरपसल तथा टयाँकी र वसपार्क, कालीपुल र पिपलचोकमा व्यापारिक प्रयोजनका लागि बनाईएका अस्थायी संरचना हटाईसकेको छ ।