किर्तीमानी पर्वतारोही निर्मल पूर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

म्याग्दी । दुई वर्ष अगाडि विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटा हिमालहरु सवैभन्दा कम समयमा आरोहण गरि विश्व किर्तीमानी बनाउनुभएका म्याग्दीका निर्मल पूजाले गैर आवासीय नागरिकता लिनुभएको छ ।

उहाँले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विहिवार दिउँसो नागरिकता लिनुभएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पूर्जालाई गैर आवासीय नेपालीहरुले पाउने नागरिकता प्रदान गर्नुभएको हो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ दाना घर भएका पूर्जाले बेलायतको नागरिकता प्राप्त गर्दा आफ्नो वंशजको नेपाली नागरिकता त्याग्नुभएको थियो । गैरआवासीय नागरिकता लिदै पूर्जाले विश्वमाझ नेपालको शान र पहिचानका लागि हिमाल आरोहणमार्फत किर्तीमानी राख्न अथक मेहनत गरि सफल भएको बताउनुभयो ।

नेपालको शिर उच्च राख्नका लागि आफुले थप नयाँ किर्तीमानी कायम गर्ने गरि आरोहणको तयारी गरेको बताउँदै गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदा आफ्नो देश प्रतिको जिम्मेवारी झन बढेको महसुस भएको उल्लेख गर्नुभयो ।

व्यस्त समयका कारण नागरिकता लिनका लागि आफ्ना सहयोगीहरु सहित हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएका पूर्जाले नेपाली ढाका टोपी लगाएर नागरिकताको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पूर्जा संगै जिल्लाका ४ जना गैरआवासीय नागरिकहरुलाई नागरिकता प्रदान गरिएको बताउनुभयो । गैर आवासीय नागरिकता लिने प्रवासी म्याग्देलीहरुको संख्यामा वृद्धि भएको छ, प्रजिअ पौडेलले भन्नुभयो, “हाल ४० जना भन्दा धेरैले वँशसको नागरिकता त्याग गरि गैर आवासीय नेपाली नागरिकता लिनको लागि निवेदन दिएका छन” ।

बेलयाती सेनाको विशेष सैनिक फोर्सको जागिर छोडेर हिमाल आरोहण गर्न थालेका पूर्जा हाल पर्वतारोहण व्यवसाय गर्नुहुन्छ । उहाँले हालै संसारकै अग्लो सगरमाथा हिमालबाट स्काई ड्राईभ गर्नुभएको थियो ।

पूर्जालाई प्रजिअ पौडेलको कार्यकक्षबाटै नागरिकता प्रदान गरिएको थियो । उक्त समयमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रहरी नायव उपरिक्षक मदन कुँवर, अनुसन्धान अधिकृत विजय पौडेल लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

गैरआवासीय नेपाली नागरिकता लिएकाहरुले नेपालमा राजनीति गर्न, सरकारी ओहडामा वस्न तथा मताधिकार प्रयोग गर्न पाउदैनन तर नेपालमा व्यवसाय संचालन गर्न तथा आफ्नो सम्पत्ती राख्न भने पाउने व्यवस्था रहेको छ ।

 

You can share this post!

बेनीको विरेन्द्रचोकमा नेपालको झण्डा फहराईयो

मंगलाको बरंजामा सार्वजनिक सुनुवाई सम्पन्न

Related posts