म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ६ दिच्याम स्थायी घर भई हाल पोखरामा वस्दै आउनुभएका समाजसेवी मुक्ती रोका र उहाँकी श्रीमति याम माया रोकाले नेत्र ज्योति संघ बेनीलाई निशुल्क जग्गा प्रदान गर्नुभएको छ ।
रोका दम्पतिले बेनी नगरपालिका वडा नम्वर ८ कालीपुलमा रहेको कित्ता नम्वर १००७ को ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा नेपाल नेत्र ज्योति संघलाई निशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । सो जग्गाको हालको मूल्य २ करोड ५० लाख रहेको छ ।
शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतिले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभएको हो । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको नेत्र ज्योति संघलाई आफ्नै भवन निर्माणका लागि रोका परिवारले सो जग्गा प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै जग्गादाता रोकाले २०६६ सालमा आफैले नेतृत्व गरेर हिमालयन आँखा अस्पताल संग समन्वय गरि बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र संचालनमा ल्याएको विगत स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बेनीमा आँखा उपचार केन्द्र संचालनको अनुमति लिनका लागि म पोखरा, काठमाडौँ लगायत देशका विभिन्न ठुला आँखा उपचार केन्द्रहरुमा पुगेँ, अन्तत लामो मेहनत पछि हिमालय आँखा अस्पतालको अनुमतिमा बेनीको रेडक्रस भवनबाट आँखा उपचार केन्द्र सुरु गरियो, त्यतिबेला म रेडक्रसको सभापति समेत थिएँ’ ।
आफु सानै उमेर देखिनै समाजसेवामा लागेको विगत कोट्याउँदै रोकाले नेत्र ज्योति संघलाई जग्गा सहयोग गर्न पाउँदा समाजसेवाको सवै भन्दा ठुलो सपना पुरा भएको रोकाको भनाई थियो ।
साथै उहाँले सो जग्गामा भवन निर्माण गर्ने योजना अघि सारि आर्थिक संकलनको अभियान संचालन गर्न समेत संघलाई आग्रह गर्नुभयो । भवन निर्माणका लागि पनि आफ्नो परिवारबाट सक्दो आर्थिक सहयोग हुने रोकाले प्रतिवद्दता जनाउनुभयो । ‘म पनि आँखाको रोगी छु, मैले दिएको जग्गामा भवन निर्माण भई त्यहाँ संचालन भएका आँखा अस्पतालबाट आँखाका समस्या भएका जिल्लाबासीहरुले सेवा लिएको देख्न पाउँ, रोकाले भन्नुभयो ।
कार्यक्रममा संघको नाममा रहेको जग्गाको लालपूर्जा ग्रहण गर्दै संघका अध्यक्ष बानियाँले जग्गादाता रोका परिवारलाई आभार प्रकट गर्नुभएको थियो । साथै संघले रोका परिवारलाई फुलमालाले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख डिल कुमारी खत्री र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा रहेर समाजसेवामा रोकाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । करिव ३ करोडको जग्गा निशुल्क सहयोग गर्नु महान कार्य भएको उहाँहरुको भनाई थियो । संघका उपसभापति राजेन्द्र श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य, बुद्धिजीवि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।