सुनका गहना लुट्न दम्पत्तीको हत्या, पर्वत प्रहरीले सार्वजनिक गर्यो अभियुक्त

हरिकृष्ण गौतम

२० वैशाख, पर्वत । बैदेशिक रोजगारीमा गएको ऋण तिर्न र घरखर्च चलाउने पैसाको अभाव भएपछि दुई यूवाले एक दम्पतीको हत्या गरेको खुलेको छ । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा दहमा चैत १९ राती कृष्णबहादुर विश्वकर्मा र दिपक दर्जीले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीलाई ‘गरगहना र पैसा लुटपाट’ गर्ने उद्देश्यले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

हत्यामा संलग्न जलजला गापा–२ नेपानेका ३२ बर्षिय कृष्ण र कुस्मा नगरपालिका–२,खुर्कोटका दिपकलाई पर्वत प्रहरीले बिहिबार आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्तद्धय विश्वकर्मा र दर्जीले घटनाको अघिल्लो दिन दिउँसो ४ बजेतिर मृतकको घरमा पुगेर करिब आधा घण्टा कुराकानी गरी चुरोट खरिद गरी मृतकले लगाएको गरगहना, घरको अवस्था, आउने–जाने बाटो लगायतका बारेमा रेक्की समेत गरेको अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त कृष्णसँग परिचित बृद्ध सूर्यबहादुरले ढोका खोलेपछि धारिलो हतियारले आक्रमण गरेका थिए । अभियुक्तले सूर्यबहादुरको टाउकोमा प्रहार गरेपछि भित्र प्रवेश गरी दिपकले गमलाको टाउको, घाँटी र शरीरमा लगातार प्रहार गरेका थिए। घटना अगाडी घरमाथिको मोटरबाटोमा आएर मृतक दम्पत्ती सुते नसुतेको अवस्थाको एकिन गरी अभियुक्त कृष्णले पसल बाहिरको बिजुलीको बल्ब निकाली नजिकै फालेको समेत पाइएको छ ।

घटना लगत्तै नगद, गरगहनासँगै रिचार्ज कार्डहरु समेत लुटेर लगेका थिए ।लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गरेका थिए।दम्पत्तीको हत्या गरेपछि अभियुक्तद्धय पैदलमार्ग हुदै राती मालढुंगाबाट सवारीसाधन चढेर पोखराको बागलुङ बसपार्क पुगेका थिए ।

मृतकको शरीरबाट निकालिएको गरगहना पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ६० बर्षिय कर्णबहादुर विकलाई सुन गाल्न लगाई बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलका ४९ बर्षिय परसुराम बिकलाई बिक्री गरी पैसा बाँडेर आफ्नो बाटो लागेका थिए । लुटपाटको क्रममा आफ्नो परिचय खुल्ने भएपछि कृष्ण र दिपकले दम्पत्तीको विभत्स हत्या गरेको स्वीकार गरेका छन् ।

अभियुक्तद्धयको ४ बर्ष अगाडी चिनजान भएको थियो । बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नका लागि दिपकले मदिरा सेवनको क्रमा अपराधिक योजना बनाएर कृष्णलाई समेत सुनाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अभियुक्तद्धय विश्वकर्मा र दर्जी लागुपदार्थ सेवनकर्ता रहेकोमा दर्जी ६ महिनासम्म बागलुङकाृ नबजीवन सुधार गृहमा बसेर निस्किएको समेत प्रहरीले जनाएको छ ।

 

You can share this post!

मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग

सडक ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि मौवाफाँटमा दुईदिनदेखि अबरुद्ध सडक सूचारु

Related posts