जलजलामा आलुको बिउ उत्पादन गर्ने कृषकलाई अनुदान वितरण

पर्वतको जलजला गाउँपालिकाले आलुको बिउ उत्पादन गर्ने कृषकहरुलाई अनुदान उपलव्ध गराएको छ । आलुको बिउ उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन आलुको मुल बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता अनुसार प्रगतिशिल बीउ उत्पादन समुह र नमुना कृषि तथा पशुपंक्षी कृषक समूहलाई ३३ हजार २ सय केजी बिउ आलुको १० लाख ७५ हजार ४५० रुपैयाँ अनुदान वितरण गरिएको हो ।

प्रगतिशिल बीउ उत्पादन समुहलाई प्रति केजी ३५ रुपैयाँको दरले २२ सय ७० केजी मुलबिउको ७९ हजार ४५० रुपैयाँ र प्रगतिशिल बीउ उत्पादक कृषक समुहलाई प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० का दरले ९ लाख ९६ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले बताउनुभयो ।

‘कृषकको आलुको बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता छ, अनुदानसँगै प्रोत्साहनका कार्यक्रमबाट उहाँहरु उत्साहित हुनुहुन्छ’ अधिकृत गौतमले भन्नुभयो । बीउ आलुका लागि गाउँपालिकाले मल तथा उत्पादन साम्रागी समेत दिने गरेको छ। गाउँपालिकाले समुहमार्फत खरिद गरेको बिउ आलु पोखराको कोल्ड स्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिका भित्रका बिउ उत्पादक कृषक समुहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाई छ । गाउँपालिकाले आलुको सिजनमा मल बिउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग सामूहिक मूलबीउ रोप्ने अभियान सञ्चालन गरेको थियो । गाउँपालिका भित्र बर्षेनी आलु बिक्री गर्ने ४० अगुवा कृषक छन् ।

गाउँपालिका भित्र आलुको पकेट क्षेत्रमा एउटै बिउको प्रयोग हुँदा निर्वाहमुखी उत्पादन र बिक्री गर्ने क्रममा गुणस्तरमा देखिएको समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूलबीउ भित्राएर अनुदान दिएको को प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ६६ हजार ७० केजी उन्नत विउ बिक्री गरी २९ लाख ७१ हजार६४९ रुपैयाँ आन्तरिक आम्दानी तर्फ राजश्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बिउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समुह तथा म्याग्दी, कास्की लगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बिउ बिक्री गरी २१ हजार ९८ हजार ६५९ आम्दानी गरेको हो ।

You can share this post!

धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा

जापानमा दोस्रो मोना क्युस्यु पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

Related posts