मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको जिल्ला प्रशासन कार्यालय म्याग्दी, सामाजिक विकास कार्यालय, म्याग्दी बहुमुखी क्याम्पस, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, मिलन म्याग्दी, ईन्सेक म्याग्दी र मानवअधिकार तथा शान्ति समाज म्याग्दीले संयुक्त रुपमा आयोजना गरेका थिए । तर कार्यक्रममा जिल्ला प्रशासन, गैरसरकारी संस्था महासंघ र मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधि भने उपस्थित थिएनन् ।

नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था र म्याग्दी जिल्लाको अवस्थाबारे सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले सहजीकरण गर्दै काभ्रेलगायत देशका केही जिल्लाबाट मानव बेचबिखन धेरै हुने गरेको बताउनुभयो ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले अपराध, मानव बेचबिखनको प्रवृत्ति, समस्या र चुनौती, लागूऔषध, ईमेल तथा इन्टरनेटको प्रयोगमा सामाजिक सञ्जालबाट भैरहेको आर्थिकलगायत विभिन्न प्रकृतिका हिंसा र घटनाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानव बेचबिखनलाई निरुत्साहित गर्न शैक्षिक संस्थामार्फत समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानव अधिकारको सन्दर्भमा आफ्नो अधिकार खोजी गर्दैगर्दा अर्काको अधिकारको बारेमा पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै म्याग्दीमा पनि विभिन्न माध्यमको प्रयोगबाट मानव बेचबिखन तथा तस्करीको कार्य हुन सक्ने भएकाले सबै चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै म्याग्दी बहमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले क्याम्पसमा जिल्लास्थित विभिन्न संघसंस्थासँग समन्वय गरी आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, आयोजक संघसंस्थाका प्रतिनिधि लगायतले सहभागिता जनाएको कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा पौडेल चयन

अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य

Related posts