नयाँ स्वरुपमा बन्यो मंगलाघाटको पुरानो झोलुङ्गे पुल

म्याग्दी । १३७ वर्ष पुरानो झोलुंगे पुल मासेर बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको स्टिलको झोलुंगे पुल बनेको छ । जीर्ण बनेर प्रयोगविहीन भएको झोलुंगे पुलको पुरानो स्वरूपलाई कायम राखेर मर्मत गरी सञ्चालन गर्न गरिएको प्रस्तावलाई सम्बन्धित निकायले अस्वीकार गरेपछि काठ हटाएर स्टिलको झोलुंगे पुल बनाइएको हो ।

नेपालकै पुरानो दाबी गरिएको म्याग्दी सदरमुकाम बेनीस्थित मंगलाघाट–हाँडेभिर जोड्ने पुल १३७ वर्षअगाडि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले बनाएको बताइएको छ । त्यतिखेर म्याग्दीको ग्रामीण क्षेत्रका खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लट्ठा र काठको फलेक राखेर बनाइएको थियो । तर अहिले नयाँ बनाउने नाममा पुरानो स्वरूप नै मासिएपछि लामो इतिहास नै मेटिएको छ ।

बेनी नगरपालिकाको पहलमा क्षेत्रगत झोलुंङे पुल सुधार कार्यक्रम र गैरसरकारी संस्था मिलन म्याग्दीमार्फत ३८ लाख रूपैयाँको लागतमा ४८ मिटर लामो पुल र्निर्माण गरी सञ्चालनमा आएको बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । ‘पुरानोमै मर्मतको प्रयास पूरा नभएपछि नयाँ बन्यो, अब पुरानो लट्ठालाई राखेपछि मात्रै उद्घाटन हुन्छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

१९४४ सालमा निर्माण गरिएको पाती चढाउने डिल र मंगलाघाट जोड्ने झोलुंगे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकाले एक वर्षसम्म बन्दसमेत गरिएको थियो । माथि र तल गरी दुईवटा साङ्ले लट्ठामा फलामका पाता र एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुंगो बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठ बताउनुहुन्छ । ‘तत्कालीन समयमा उक्त झोलुंगे पुलका लागि मैले धेरै सहयोग गरेको छु, पुरानो इतिहास नमेटिने गरी संरक्षण गर्नुपर्छ,’ समाजसेवी श्रेष्ठले भन्नुभयो ।

तत्कालीन समयमा उक्त झोलुंगे पुल म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको थियो । गाउँगाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाहरूबाट खुला आकाशमा भोकभोकै काम गरी झोलुंगे पुल निर्माण गरिएको अग्रजहरुको भनाई छ ।

You can share this post!

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

बागलुङ दुर्घटनाः मृतक पाँचै जनाको पहिचान

Related posts