सौर्य गतिबिधी र वर्षाको सम्बन्धका विषयमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक

बेनी, १५ पुषः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः अ केस स्टडी” शिर्षकमा गर्नुभएको अध्ययनको प्रतिवेदन अन्र्तराष्ट्रिय जर्नल ”एड्भान्सेस इन स्पेस रिसर्च”मा हालै प्रकाशित भएको हो ।

जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्म को पोखरा र काठमाडौको मासिक बर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधीको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताउनुभयो ।

“यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौको मासिक बर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,” उहाँले रासससँग भन्नुभयो “सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दिर्घकालिन समानता पाइएको छ ।”

११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर बर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पुर्व सतर्कता अपनाउन सहयोग पुग्ने गौतमले बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बिचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विबिधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाणहरु सिमिति थिए ।

त्यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्वपूर्ण मानिएको छ । सुर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अन्य देशहरुमा भएका पुराना अध्ययनहरुले प्रमाणित गरेको छ । वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र बर्षाका ढाँचाहरुलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ ।

‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विष्लेषण गरिएको हो । नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिबिधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ । सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्वपूर्ण कारकका रुपमा स्थापित गरेको छ । यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापन सम्बन्धी रणनीतिहरुमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलमा स्पेस साइन्स’मा पुनः स्नातकोत्तर सकेर ‘पि.एच.डि.’ अध्ययन गरिरहेका गौतमको घर म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ हो । गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको छ । गौतमले बेनी सामुदायिक माविबाट एसएलसी उतिर्ण गर्नुभएको थियो ।

 

 

You can share this post!

मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित

अनेमसंघ बेनी नगरमा शाही, लोकतान्त्रिक आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण

Related posts