म्याग्दी । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप दिइने भएको छ । जिल्लाको ६ वटै स्थानीय तहहरुमा माघ २२ गते २९ गते सम्म छात्रा तथा किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको छ । यो खोप लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ ।
नेपालमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगले दैनिक रुपमा चारजनाको ज्यान जाने गरेको छ । खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार ६ स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप दिइने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना, रघुगंगामा ४ सय ९५ जना,बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना, मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाउने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । खोपको तयारीका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयमा रहेका स्वास्थ्यकर्मीहरु जुटेको उहाँले बताउनुभयो ।
खोप अभियानलाई प्रभावकारी रुपमा संचालनका लागि स्थानीय तहहरुमा वैठक र अभिमुखीकरण लगायतका कामहरु संचालन गरिएको प्रमुख ठकुराठीको भनाई छ । खोप कार्याक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्न जनस्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ ।