म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथि आइतबार दिउँसो बिजय बिक नाम बताउने ब्यक्तिबाट कार्यकक्षमै मोविल छ्यापेको घटना प्रति बेनी नगरपालिकाले बिज्ञप्ती प्रकाशन गरि घोर भत्सना गरेको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठ द्वारा हस्ताक्षरित बिज्ञप्तीमा चन्दा नदिएकै आधारमा सुनियोजित ढंगले यो घटना घटाइएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘केही समय अगाडि देखिनै नगरपालिकालाई चन्दा माग्दै आएको भनि अधिकृत सुबेदीले नगरपालिकाको बिभिन्न बैठक र छलफलहरुमा जानकारी गराउदै आउनुभएको तर नगरपालिकाले अबैधानिक तरिकाले चन्दा दिन नसकिने भन्दै उहाँले निरन्तर प्रतिपाद गरेकै कारण यस घटना भएको हो’ ।
यसरी ब्यक्ति केन्द्रित धरपकड र चन्दा आतङ्कले जिल्लामा सुरक्षा चुनौति समेत बढेको नगरपालिकाले ठहर गरेको छ । उक्त घटनामा संलग्न १ जनालाई नियन्त्रणमा लिइएपनि बाँकी ३ जना फरार रहेकोले तिनिहरुलाई तत्काल खोजिगरि आबश्यक अनुसन्धान सहित कडा कार्वाही गर्न पनि नगरपालिकाले बिज्ञप्ती मार्फत जोडदार माग गरेको छ ।