नेकपा एमालेको १० औ राष्टिय महाधिवेशनमा सहभागी हुन म्याग्दीबाट करिब १३ सय नेता तथा कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । महाधिवेशमा जिल्लाका सबै स्थानीय तहबाट निजी तथा भाडाका सवारीसाधनको प्रयोग गरी अधिकांस चितवन पुगिसकेका छन् ।
म्याग्दीबाट जानेमा सबैभन्दा धेरै बेनी नगरपालिकाबाट १२ बस र ५ निजी सवारीसाधनमा ५ सय जना प्रस्थान गरेको नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो । उहाँले मोटरसाईकलमा जानेहरूको संख्या समेत अत्याधिक भएकाले महाधिवेशनमा म्याग्दीबाट ठूलो संख्यामा नेताकार्यकर्ता पुग्ने बताउनुभयो ।
बेनी नगरपालिका बाहेक मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट समेत सवारीसाधन मार्फत बिहिबार राती सम्म महाधिवेशनस्थलसम्म पुग्ने नगर कमिटी अध्यक्ष जिसीको भनाई छ ।
जिल्लाका बिभिन्न गाउँपालिकाबाट आएका कार्यकर्ता सदरमुकाम बेनी आसपास क्षेत्रबाट पार्टीको भण्डा लिएर गएका छन् । नेकपा एमालेबाट माधब समुह बाहिरिएपछिको अवस्थामा जिल्लाबाट यस अगाडीका महाधिवेशनमा भन्दा धेरै कार्यकर्ताहरु गएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।
महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यका लागि जिल्लाबाट मात्रै चार जनाले आकांक्षा देखाएका छन । म्याग्दीबाट हाल केन्द्रीय सदस्य रहेका सांसद भुपेन्द्र बहादुर थापा बाहेक खुल्लाबाट नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, महिलाबाट नरदेवी पुन, थमसरा पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइएको छ ।
एक निर्वाचन क्षेत्र भएकाले म्याग्दीबाट पुरुष र महिलातर्फ एकएक जना केन्द्रिय सदस्यको सम्भावना रहेपनि उम्मेदवारी दिएका सबै यसअगाडी नेकपा हुदाँ अध्यक्ष केपी शर्मा ओलीको लाइनमा रहेकाले सहमतिबाटै टुंगिने सम्भावना देखिन्छ ।