२४ मंसिर २०७८, शुक्रबारप्रताप बानियाँ, म्याग्दी । ‘घरैबाट सुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित यसवर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । अभियानको अन्तिम दिन शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा र ग्रामीण भेगमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउनुका साथै अभियान समापन गरिएको हो ।
यसैक्रममा बेनी नगरपालिकाको आयोजनामा वडानम्बर ३ भकिम्लीमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसाको विरुद्धमा समुदायस्तरमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले लैङ्गिक तथा महिला हिंसा, शारिरीक, मानसिक, यौनजन्य र आर्थिक यातनाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रम भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनको अध्यक्षता र नगरपालिकाका सहायक महिला विकास निरीक्षक डमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी जिल्लास्थित सरकारी, गैरसरकारी संघसंस्था र महिला सहकारीको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको विषयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा सम्पन्न कार्यक्रमको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था, महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दी, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी, सङ्गिनी बचत तथा ऋण सहकारी, गैरसरकारी संस्था महासंघ र मानवअधिकार तथा शान्ति समाज आयोजक बनेका थिए ।
सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष सन्तोष गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले लैङ्गिक हिंसा, महिला तथा घरेलु हिंसा, बहुविवाहलगायत विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले उद्घाटन गर्नुभएको थियो ।
सोही अवसरमा दिदीबहिनी सहकारीमा स्थापित रुविना स्मृति कोषबाट पौलस्त्य मावि भीरमुनीका छात्रा शिवानी खत्री र मुठ्ठीदान अभियानबाट मङ्गलाघाटकी ज्येष्ठनागरिक भीमकुमारी गौचनलाई जनही पाँचहजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ । कार्यक्रम दिदीबहिनी सहकारीका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, गैरसरकारी संस्था महासंघका सचिव निरमाया मिजारको सञ्चालन र नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका सचिव दिलमाया बिटालुको स्वागतमा सम्पन्न भएको थियो ।