नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर कटुवालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसचिवमा राजकुमार थापा र थमसरा पुनलाई चयन गरेको हो ।
एमालेको विधानअनुसार नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी ५ जनासहित भूगोलतर्फ ३१, खुलातर्फ ३०, जनजाति १३, दलित ७, मजदुर २, मुस्लिम १ र अन्यतर्फ १ जना निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विवेक क्षेत्रीले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष कटुवालले पद तथा गोपनीयताको समथ ग्रहण गराउनुभएको थियो ।
तत्कालीन शिक्षक जागिर छोडेर एमालेको राजनीतिमा लाग्नुभएका नवनिर्वाचित अध्यक्ष कटुवाल २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साविकको राखुभगवती गाविसको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचन जित्नुभएको थियो । यसअघि एमाले म्याग्दीको उपाध्यक्ष रहनुभएका कटुवाल २०७४ सालमा सङ्घीयताको कार्यान्वयनसँगै भएको निर्वाचनबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
अध्यक्षमा निर्वाचित भएसँगै कटुवालले एमालेको नीति, बिचार र सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा म्याग्दी जिल्लामा नेकपा एमालेलाई जिताउने उद्घोष गर्नुभयो । उहाँले अहिले पनि देशको प्रमुख तथा ठूलो पार्टी एमाले भएको बताउँदै अब हुने तीनै तहको निर्वाचनमा एमालेलाई जिताउने दावीसहित पार्टीलाई एकीकृत र शक्तिशाली बनाएर अगाडि बढ्ने बताउनुभयो । पार्टीलाई जनताको बिचमा स्थापित गराउने अभिभारा आफ्नो काँधमा आएको भन्दै कटुवालले सामुहिक नेतृत्वको भावना अनुसार उच्च मनोवल र दृढ संकल्पका साथ कार्यक्षेत्रमा खटिन सम्पुर्ण जिल्ला कमिटि तथा पार्टी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।
नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले म्याग्दीमा एमालेको विरासतलाई कायम राख्दै पार्टीको गतिविधिलाई गाउँ, टोलसम्म पु¥याउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिमा एमाले पार्टीको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार जिल्लामा पनि गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । जनताको बीचमा पुगेर पार्टीले गरेका कामलाई प्रचारप्रसार गर्ने र जनतालाई परेको समस्याको समाधान गर्नेतर्फ लाग्न नवनिर्वाचित कमिटीलाई उहाँले सुझाव दिनुभयो ।
नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन र शुभकामना व्यक्त गर्दै एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठले आफूले लामो समय जिल्लामा पार्टीको नेतृत्व गरेर आज सर्वसम्मत रुपमा जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो । कार्यक्रमको सञ्चालन एमाले केन्द्रीय सदस्य एवं अध्यक्ष मण्डलका सदस्य भूपेन्द्रबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायत एमालेका नेता, कार्यकर्ताले नवनिर्वाचित कमिटीलाई बधाई दिएका थिए ।