कोरोना संक्रमणको जोखिमः बेनीमा हुन लागेको माघे संक्रान्ति मेला स्थगित

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजना हुन लागेको माघे संक्रान्ति मेला स्थगित भएको छ । नेपालमा कोभिड संक्रमण तीब्र रुपमा फैलिएको र जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले मेला, पर्व, महोत्सव र २५ जना भन्दा बढी सहभागी हुने सभा, समारोह तथा कार्यक्रममा समेत रोक लगाउने निर्णय भएपछि आगामी पौस ३० देखि माघ २ गतेसम्म आयोजना गर्न लागिएको मेला स्थगित गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा बेनीको खुल्लामञ्चमा मेलाको आयोजना गरिने मेलामा सबै स्थानीय तह सहित संघसंस्थालाई पत्रचार समेत गरिएको थियो । संघका अध्यक्ष बेलबहादुर कटुवालले कोरोनाको जोखिमका कारण मेला स्थगित गरिएको र अब उपयुक्त समय हेरेर म्याग्दी महोत्सव नै आयोजना गरिने बताउनुभयो ।

म्याग्दी उवासंघले हरेक तीन बर्षमा म्याग्दी महोत्सव र प्रत्येक बर्ष माघे संक्रान्ति मेलाको आयोजना गर्ने गरेको भएपनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई बर्षदेखि मेला महोत्सव सञ्चालन हुन सकेको छैन् । यसैबीच जिल्लाका सबै स्थानीय तहमा सञ्चालित मेला र मेला सञ्चालनको अनुमति लिएकालाई समेत तत्काल स्थगित गराउन लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

You can share this post!

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

म्याग्दीमा तत्काल विद्यालय बन्द नगरिने

Related posts