म्याग्दी। स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिने भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।
मतदाता नामावलीमा रहको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनभयो । अभियानलाई प्रभाबकारी बनाउन शुक्रवार बेनीमा कार्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।
निर्वाचन आयोगमा तयार भएको फोटो सहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपन र सबै प्रकारका त्रुटीहरु सच्याउनका लागि सबै वडा कार्यालयहरुमा नामावलीको विवरण टाँस गरिने जनाइएको छ । फागुन २० गतेदेखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दावी विरोध सहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ ।
म्याग्दीमा अहिले ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण संकलन भएको छ । अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाहरको हटाउने र नाम, थर , उमेर लगायतका विवरणमा त्रुटी भएमा सच्याउन सकिने कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो ।
अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले निर्वाचनलाई स्वच्छ र मर्यादित बताउनका लागि वास्तविक मतदाताहरुको पहिचानका लागि समेत अद्यावधिक अभियानलाई प्रभाबकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले राजनीतिक दल र सरोकारवाला निकायले समेत मतदाता नामावलीको अद्यावधिकलाई प्रचार प्रसारमा सघाउनुपर्ने बताउनुभयो ।