म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा भूपेन बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट बानियाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
११ सदस्यीय समितिको उपाध्यक्षमा कोबिदशरण उपाध्याय, सचिवमा भोज बहादुर गुरुङ, कोषाध्यक्षमा बिष्णु बास्तोला र सहसचिवमा किरण रेग्मी निर्वाचित हुनुभएको छ ।
बेनी नगरपालिका वडा नं ६ छाप निवासी बानियाँ हाल क्रिएटिभ मिडिया प्रोडक्सनका संचालक हुनुहुन्छ । लामो समय देखि लोक तथा दोहोरी गीत, पप, आधुनिक गीतको म्यूजिक भिडियो, सिरियल तथा लघु चलचित्र समेत निर्माण तथा छाँयांकन गर्दै आउनु भएका बानियाँ हाल प्रोडक्सन हाउसलाई बेनी तथा पोखराबाट पनि संचालन गर्नुभएको छ ।
म्यूजिक भिडियो निर्देशनमा समेत अव्वल बानियाँले दर्जनौ गीतका भिडियो निर्माण गरिसक्नुभएको छ । जनपक्षीय चलचित्र महासंघको अध्यक्ष भएसंगै बानियाँले म्यूजिक भिडियो निर्माण सम्वन्धी कलाकारहरुलाई एकत्रित गरि कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले गण्डकी प्रदेशभरि रहेका भिडियो तथा चलचित्र संग सम्वन्धित कलाकारहरु हितका लागि प्रत्येक जिल्लामा पुगेर रचनात्मक कार्य गर्ने बताउनुभयो ।