म्याग्दी । लोकप्रीय गायक हेमन्त कान्छा रसाईलीको मौलिक लोक दोहोरी गीत ‘के माया साटासाट’ भिडियो सहित बजारमा आएको छ ।
गायक हेमन्त कान्छा र चर्चित गायीका शान्तीश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीतको म्यूजिक भिडियो हेमन्त कान्छाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
हेमन्त कान्छा रसाईलीको शब्द तथा लय सृजना रहेको गीतमा लोमश शर्मा, रविना भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतको एरेन्ज पनि गायक रसाईलीले नै गर्नुभएको हो ।
‘मन मिले चाटाचाट नमिले काटाकाट’ गीत सामाजिक र समसामयिक विषयबस्तुमा तयार पारिएको गायक रसाईलीले बताउनुभएको छ । गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्दै गएको छ भने प्रतिक्रियाहरु पनि राम्रो आइरहेको गायक रसाईलीले बताउनुभयो ।
हाम्रो समाजमा यस्ता थुप्रै घटना छन, त्यो चाहे घरपरिवारमा होस चाहे प्रेममा होस, चाहे नेपाली राजनीतिमा होस, मन मिले नजिक नमिले क्षणभरमै टाढा हुने वा अप्रिय घटना घटाउने, गायक रसाईलीले भन्नुभयो, “मौलाउदै गएको यस्तो गलत संस्कारलाई निरुत्साहित गर्नुपर्छ भन्ने भावनाका साथ यो गीत सृजना गरेको हुँ” ।
म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा जन्मिनु भएका गायक रसाईली नेपाली लोक संगीतको क्षेत्रमा निकै लोकप्रीय बन्नुभएको छ । बिशेषगरि पछिल्लो समय उत्कृष्ट सांरगी बाद्यकका रुपमा परिचित रसाईली रेकर्डिङ स्टुडियोमा निकै व्यस्त हुनुहुन्छ ।
मौलिक लोकभाका आफै सृजना गरि गाउँदै आउनुभएका उहाँले दर्जनौ गीतहरु बजारमा ल्याईसक्नुभएको छ । गायक रसाईलीले गाउनुभएको काँचो सुन्तला, भाग्मानी, बालापन, लाहुर, किन होला खै, थर बदल्नु पर्दैन, दुईदिन हसायाँै, बनको हरिण लगायतका गीतहरु निकै चर्चामा रहेका छन ।
आफ्ना प्राय गीतहरुमा आफै अभिनय गर्ने गायक रसाईलीको अभिनयकला पनि निकै उत्कृष्ट रहेको छ । श्रोता दर्शकको माया र हौसलाले गर्दा संगीतको क्षेत्रमा निरन्तर रहिरहने वातावरण मिलेको उहाँको भनाई छ ।