दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग

बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मुठ्ठीदान सहयोग गरेको छ । आइतबार दिवसको अवसर पारेर सहकारीले विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरेको हो ।

युएनडिपीको आर्थिक सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित प्रयास परियोजनामार्फत बेनी नगरपालिकाका अति विपन्न १० जना महिलाहरुलाई स्वास्थ्य बिमा वापतको रकम सहयोग गरिएको दिदीबहिनी सहकारीले जनाएको छ ।

स्वास्थ्य बिमावापतको रकम पाउनेहरुमा बेनी नगरपालिकाभित्रका विपन्न महिलाहरु उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी बिक र तिलकुमारी कार्की रहेका छन् ।

उनीहरुलाई स्वास्थ्य उपचारमा सघाउनका लागि बिमावापत प्रतिव्यक्ति तीनहजार पाँचसय रुपैयाँका दरले ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योती लामिछानेले बताउनुभयो ।

एक वर्षका लागि स्वास्थ्य बिमावापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रयास परियोजनाको सामाजिक परिचालक बुद्धिमाया विकलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष लामिछानेले बताउनुभयो ।

सहकारीमा आबद्ध दिदीबहिनीहरुको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले थोरै भएपनि महिलाहरुलाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

मुठ्ठीदान अभियानमार्फत सङ्कलित उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहकारीका उपाध्यक्ष विष्णु गौतम सापकोटा, सचिव सुगम श्रेष्ठ, कोषाध्यक्ष जगतकुमारी बानियाँ खत्रीसहित सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।

महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

You can share this post!

बालगृहलाई सङ्गीतका सामग्री हस्तान्तरण

राष्ट्रिय जनसाँस्कृतिक महासंघको अध्यक्षमा अधिकारी

Related posts