म्याग्दी । आगामी बेशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले म्याग्दीले कुनै दल संग पनि तालमेलका लागि औपचारिक वार्ता नभएको बताएको छ ।
शुक्रबार एक बिज्ञप्ती जारी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका बिषयलाई लिएर बिपक्ष कुनैपनि दल वा नेताहरु संग आधिकारिक रुपमा भेटघाट,वार्ता, सम्वाद नगरिएको प्रष्ट पारेको हो ।
त्यस बिषयमा नसोचिएको र प्रयत्न समेत नगरिएको एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र बहादुर कटुवाल द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । दलहरु बिच सहकार्यका लागि एमालेले गोप्य रुपमा वार्ता गरिरहेको छ भनेर बाहिर कुरा आउन थालेकाले यो सरासर भ्रम हो भनि बिज्ञप्ती निकालिएको हो, कटुवालले भन्नुभयो ।
जनताको प्रीय पार्टी एमाले मुलुकको सवैभन्दा ठुलो दल रहेको र आगामी निर्वाचनबाट समेत त्यसको पुनःपुष्टि हुने गरि एमाले म्याग्दीले उम्मेदवार छनौट, कार्यकर्ता तथा मतदाता भेटघाट देखि लिएर प्रचार प्रसारलाई पनि तिव्रताका साथ अगाडि बढाईरहेको अध्यक्ष कटुवालले बताउनुभयो ।
जिल्लामा विभिन्न ५ दलविच गठवन्धन भएको तर एमाले एक्लै चुनावमा जान तयार रहेकाले कुनै दलसंग तालमेलको बिषयमा सम्झौता नगरिने नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
बाहिर सनिुएका सवै कपोकल्पित भ्रमहरु मात्रै हुन, यस बिषयमा नगर, पालिका तथा जिल्ला कमिटीमा समेत कतैपनि कुरा भएको छैन, जिसीले भन्नुभयो, “एमाले एक्लै चुनाव लड्न सक्षम छ कसैसंग तालमेल गर्दैन” ।
आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जित दिलाउन लागि खटिएर लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमाले म्याग्दीले आग्रह गरेको छ ।