म्याग्दी । म्याग्दी जेसिजले तातोपानी कुण्डलाई एक वटा ह्वील चियर र दुई सेट वैशाखी सहयोग गरेको छ । मंगलबार तातोपानी कुण्ड परिसरमा एक कार्यक्रमको आयोजना गरि सो सामग्री सहयोग गरिएको हो । म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यलाई चियर र बैशाखी हस्तान्तरण गर्नुभएको हो ।
तातोपानी कुण्डमा स्नानका लागि आउने शारीरिक रुपमा अशक्त बिरामीलाई मध्यनजर गर्दै उहाँहरुलाई सहज होस भन्ने उद्देश्यले सामग्री सहयोग प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष खत्रीले बताउनुभयो । ‘अशक्तताका लागि सारथी’ कार्यक्रम अनुसार कुण्डमा तत्कालका लागि एक वटा ह्वील चियर र दुई वटा बैशाखी सहयोग गरिएको र भविस्यमा आवश्यकता अनुसार फेरी पनि सहयोग प्रदान गर्न सकिने अध्यक्ष खत्रीले बताउनुभयो ।
सहयोग ग्रहण पछि बोल्दै तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले कुण्डका लागि अति आवश्यक सामग्री सहयोग गरेकोमा म्याग्दी जेसिजलाई धन्यवाद ज्ञापन गर्दै यसले कुण्डमा स्नानका लागि आउने अशक्त बिरामीहरुलाई अत्यन्तै ठूलो सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व शाखा अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, पूर्व शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायत बर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । शाखा अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक सुमन बानियाँले गर्नुभएको थियो ।