म्याग्दी । बेनी नगरपालिका वडा नं ७ मा धमाधम पिच भईरहेको सडक मापदण्ड अनुसार नभएको पाईएको छ । बुधबार बेनी नगरपालिका कार्यालयले गरेको अनुगमन तथा जाँचको क्रममा उक्त सडक पिचको काम सम्झौतामा उल्लेख भएअनुसार नभएको पाईएको हो ।
नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, अधिकृत युवराज थापा, ईन्जिनियर बिमल रञ्जन कार्की वडा अध्यक्ष रोजेन्द्र कुमार श्रेष्ठ लगायतको टोलीले बेनीको बिरेन्द्रचोकमा पिच गरिएको सडकको परिक्षण गरेको हो । कोट कटर मेसिनको प्रयोग गरि पिचको गहिराई (ठिग्नेस ) मापन गरिएको थियो ।
छुट्टाछुट्टै ३ ठाउँमा गरिएको उक्त परिक्षणमा पिचको बाक्लोपन १३, १३.५ र १५ एमएम भएको देखिएको छ । तर मापदण्ड अनुसार २० एमएम हुनुपर्ने बेनी नगरपालिकाका ईन्जिनिरयर बिमल कार्कीले बताउनुभयो । सडक पिचका लागि गुणस्तरीयता तथा सम्झौता अनुसारको मापदण्डलाई ध्यान दिन सुझाव स्वरुप निर्माण कम्पनीलाई ध्यानाकर्षणका लागि पत्राचार गरिएको पनि ईन्जिनियर कार्कीले बताउनुभयो ।
सडक पिच हुनुपूर्व प्रयाप्त सरसफाई नगरिएको, चिप्सको प्रयोग नगरिएको, आकार बराबर नमिलाईएको, कम गुणस्तरमा काम भईरहेको पाईएकाले बाँकी रहेको काममा यस्तो गल्ती नगर्न सुझाइएको बेनी नगरपालिकाका अधिकृत युवराज थापाले बताउनुभयो ।
यता ठेकेदार कम्पनी रामकृष्ण कन्ट्रक्सनका संचालक प्रदिप सापकोटाले आफु संग दक्ष प्राविधिक नभएको र नगरपालिका बाट पनि काममा प्रयाप्त प्राविधिक सहयोग नपाएकाले कमजोरी भएको हुनसक्ने बताउनुभएको छ । सडकमा कतै उकालो र कतै ओरालो भएकाले पनि पिच बाक्लो र पात्लो भएको सापकोटाको भनाई छ ।
बेनी नगरपालिका वडा नं ७ बाट विनियोजित रु २१ लाख को बजेटमा सामुदायीक चोकदेखि बिरेन्द्रचोक हुँदै प्रहरी कार्यालय अगाडि सम्म र बालमन्दिरचोक देखि बैंकरोड सम्मको सडकमा पिच गर्ने कार्य भईरहेको छ । त्यस्तै वडा नं ८ को रु १६ लाख बजेटबाट न्युरोड र गणेशटोल क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने गरि मर्मत कार्यपनि रामकृष्ण कन्ट्रक्सनले गरिरहेको छ ।
चैत मसान्त सम्म सक्नुपर्ने कामको करिव ३० मात्रै सकिएको छ । म्याद थपका लागि निवेदन दिएको संचालक सापकोटाले बताउनुभयो । सम्झौतामा उल्लेख भएअनुसारको मापदण्डमा रहेर काम सम्पन्न नभए पुरा भुक्तानी दिन नसकिने नगरपालिकाले जनाएको छ ।