म्याग्दी । नेपाली काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा हालकै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ ।
गत चैत २२ गते बसेको नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
शुक्रबार मात्र उक्त निर्णय सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहनुभएका रोका मालिकाको लोकप्रीय युवा नेता हुन्हुन्छ ।
जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा सहित प्रमुख पदको उम्मेदवार छनौंट गरेको छ ।
पाँचदलबीच चुनावी तालमेल गर्दा माओवादी केन्द्रले मालिकामा प्रमुख पद मागेको छ । मालिका माओवादीलाई नदिँदा जिल्लामै सत्तारुद दलका बीच चुनावी तालमेल संकटमा पर्ने देखिन्छ । मालिकामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) ले पनि अध्यक्षको उम्मेदवार बन्ने आकाँक्षा देखाउनुभएको छ । नेकपा एमालेले पालिका कमिटी अध्यक्ष बेग प्रसाद गर्बुजालई यस अघि नै अध्यक्षको उम्मेदवार बनाईसकेको छ ।