म्याग्दी । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला – ५ अर्मनको अध्यक्षमा भुपेन्द्र खत्रीलाई उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले हालको वडा अध्यक्ष रहनुभएका खत्रीलाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।
बैठकले वडा सदस्यहरुको उम्मेदवार पनि टुङ्गो लगाएको छ । खुल्ला सदस्यमा गुप्त बहादुर रोका, दिल बहादुर थापा, खुल्ला महिला सदस्यमा भुमिसरा बुढाथोकी र दलित महिला सदस्यमा कविता बिश्वकर्मालाई उम्मेदवार चयन गरिएको नेकपा एमाले मंगला गाउँपालिका कमिटी सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।
मंगलबार आसन्न निर्वाचनमा पालिका अध्यक्षका उम्मेदवार समेत रहनुभएका हालका गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र नेकपा एमाले पालिका कमिटी सचिव शर्माको उपस्थितिमा उम्मेदवारको अन्तिम नामवली घोषणा गरिएको हो ।
उम्मेदवार चयन सकिए संगै चुनावी अभियान लिएर वडाबासीहरुको घरदैलोमा पुग्ने योजना बनाईएको छ ।
विगत ५ बर्षमा पनि अर्मनमा कृषि, सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा राम्रा काम भएका छन । सो अवधिमा बाँकी रहेका कामहरुलाई पूर्णता दिनका लागि आफुले फेरी पनि अध्यक्षमा उम्मेदवारी दिएको खत्रीले बताउनुभयो ।
खत्रीले आगामी पाँच बर्षको सयम वडाको विकास र जनताको सेवामा बिताउने चाहना स्वरुप जनताको अमूल्य मतको अपेक्षा गर्नुभएको छ । पालिका अध्यक्षका उम्मेदवार रोकाले पालिका र सवै वडामा अघिल्लो निर्वाचनमा जस्तै एमालेका उम्मेदवारहरुको जित गराउनका लागि सक्रियताका साथ लाग्न उम्मेदवार तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
२ वटा मतदान स्थल र ४ वटा मतदान केन्द्र रहेको मंगला – ५ मा ३ हजार ४ सय ६२ मतदाता रहेका छन ।