बेनीको मेयर पदमा नवनिर्वाचित सुरत केसीले २०६० सालमा म्याग्दी भिडन्तमा परेर प्वालैप्वाल परेको बिजुलीको पोल हाल काठमाडौंमा रहेको बताउँदै उक्त बिजुलीको पोल नगरपालिकाको पहलमा फिर्ता ल्याएर बेनीमा संङ्ग्रहालयको स्थापना गरिने घोषणा गर्नुभएको छ ।
मंगलबार विजय ¥याली पछि खुल्ला मञ्चमा आयोजित कार्यक्रममा उहाँले आफूहरुको टिमले प्रतिबद्धतापत्रमा उल्लेख गरेअनुसार बेनी नगरको विकास र जनतालाई विकासको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले पार्टीको केन्द्रीय घोषणापत्र र प्रतिबद्धताअनुसार एमालेबाट निर्वाचित टिमले समृद्ध बेनी नगरपालिका र सुखी नगरवासी हुने गरी काम गर्नुपर्ने बताउनुभयो । सोही सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित टिमलाई पार्टीको पूर्ण सहयोग र समर्थन रहने बताउँदै म्याग्देली जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले बेनी नगर कमिटीका अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका चुनावी कमान्डर नारायण जिसीले वर्तमान पाँचदलीय सत्ता गठबन्धनको विरुद्ध म्याग्दीमा एमालेले एक्लै प्रतिस्पर्धा गरी चुनाव जितेको बताउँदै आसन्न निर्वाचन पनि एक्लै सामना गर्न एमाले तयार रहेको चेतावनी दिनुभयो । कार्यक्रमको सञ्चालन बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले गर्नुभएको थियो ।
यसैबीच उपमेयरसहित बेनीको दुईवटा वडामा प्यानल जितेको नेकपा माओवादी केन्द्रले पनि मंगलबार सदरमुकाम बेनीमा विजय उत्सव ¥याली मनाएको छ । उपमेयरमा माओवादी केन्द्रबाट ज्योती लामिछाने पौडेल ७ हजार ४३ मतसहित विजयी हुनुभएको छ । विजयउत्सवको क्रममा मतदातालाई भेटेर धन्यवादज्ञापन गर्दै नवनिर्वाचित उपमेयर पौडेलले नगरवासीको चाहनाअनुसार काम गर्ने बताउनुभयो ।