म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङका नवनिर्वाचित वडा अध्यक्ष राजाराम सुवेदीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले वडाका सवै वस्तिहरुमा ईन्टरनेटको सेवा विस्तार गर्ने निर्णय गर्नुभएको छ ।
मंगलबार वडा कार्यालयमा आयोजित स्वागत तथा विदाई कार्यक्रममा अध्यक्ष सुवेदी सहित नव निर्वाचित वडा सदस्यहरुले पदभार ग्रहण गरेका छन । साथै यसअघिका जनप्रतिनिधिहरुलाई विदाई पनि गरिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका वडा सदस्यहरु लोक प्रसाद पुन, तिल कुमारी केसी, राम बहादुर जुग्जाली र लक्ष्मी परियारलाई विदाई गरिएको हो भने नवनिर्वाचित वडा सदस्यहरु गोरी जुग्जाली, मन कुमारी लामगारे, श्रीप्रसाद गर्वुजा र गमन जुग्जालीलाई स्वागत गरिएको त्यहाँबाट ईश्वर सुवेदीले जानकारी दिनुभयो ।
दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित सुवेदीले वडा बासीलाई ईन्टरनेटको पहुँचमा ल्याउनका लागि वडाबाट निशुल्क जडानको व्यवस्था गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्यक घरमा ईन्टरनेट जडान शुल्क वडाबाट बेहोरिने छ भने मासिक शुल्क र अन्य मर्मत खर्च भने सेवाग्राही आफैले व्यहोर्नुपर्ने छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा दिगो विकास गर्ने र सेवालाई प्रभावकारी ढंगबाट संचानल गरि नागरिकलाई सहजता प्रदान गर्ने योजना बनाईएको अध्यक्ष सुवेदीको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य याम बहादुर गर्वुजा, नेपाली काँग्रेस वडा सभापति योगेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन वडा सचिव बेदु सुवेदीले गर्नुभएको थियो । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मराङमा नेकपा एमालेको प्यानल विजयी भएको थियो ।