म्याग्दी । बेनी नगरपालिकाका १० बटै वडामा निर्वाचित हुनुभएका दलित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । शनिबार १६ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।
त्यस्तै बेनी नगरका ३ जना दलित कार्यपालिका सदस्यहरुलाई पनि सम्मान गरिएको छ । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा आयोजित दलित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले छुवाछुत मुक्त भनेर संविधानमा त लेखियो तर मानिसहरुको चेतनामा पनि लेखिन आवश्यक रहेको बताउनुभयो ।
छुवाछुतको अन्त्यका लागि साना बालबालिकालाई विभेद छैन भनेर सिकाउने वातावरणको सृजना गर्नुपर्ने बताउनुभयो । छुवाछुतलाई सिक्ने ठाउँबाटै हटाउन पर्ने भन्दै प्रमुख केसीले सोच, शिक्षा र चेतनामा परिवर्तन गर्न सके विभेद आफै हटेर जाने बताउनुभयो ।
सकरात्मक सोच र ज्ञानको विकास गर्नका लागि विभिन्न कार्यक्रम तयार गर्ने केसीले बताउनुभयो । दलित समुदायमा आम्दानी अनुसारको बचतको बानी नभएकाले बचत गर्ने बानी बसाल्न आग्रह समेत गर्नुभयो । उहाँले दलित समुदायको सिप र क्षमताको कदर गर्दै समुदायलाई कसरी अगाडि बढाउने भन्ने कुरामा सचेत रहने बताउनुभयो ।
बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछाने आनीवानी र व्यवहारमा विभेद अझै रहेकोले बर्ग र जातिय विभेदलाई हटाई समतामुलक समाज निर्माण गर्न आफ्नो तर्फबाट सधै सकरात्मक पहल हुने बताउनुभयो । लामो समयदेखि नै दलित मुक्तिका आन्दोलनहरु भईरहेकाले परिवर्तनका निम्ती सवै दलितहरु सधै एकजुत हुन आग्रह गर्नुभयो ।
उपमेयर लामिछानेले छुवाछुत सम्वन्धी कानून भएकाले विभेदको घटनालाई सहेर नवसी तुरन्त उजुरी गर्नुपर्ने बताउनुभयो । दलितले आफ्नो व्यत्तित्व विकास गर्न र आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले नागरिकको सम्मान पुर्वक बाँच्न पाउने अधिकारको सुनिस्चित हुनुपर्ने बताउनुभयो । व्यवहारमा अझै उस्तै रहेको छुवाछुतलाई निर्मूल पार्नका लागि दलित संगै गैरदलितको पनि भूमिका रहने बताउनुभयो । स्थानीय सरकारले दलितमैत्री काम गर्नुपर्ने थापाको भनाई थियो । राजसंस्थालाई फाले जस्तै जात व्यवस्थालाई पनि फाल्नु पर्छ, थापाले भन्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य मन कुमारी विश्वकर्मा, राष्ट्रिय दलित समाज कल्याण संघ म्याग्दीका अध्यक्ष बालकुमार विश्वकर्मा, युवा नेता सुवास विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै दोस्रो दिन आइतवार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । छुवाछुतको अन्त्य गर्ने उपाय, दलितको हक अधिकार र कानूनको व्यवस्था, समाज परिवर्तनका लागि आवश्यक कदमहरु, दलित मुक्तिका आन्दोलन र त्यसका उपलव्धिहरु र भावि योजना लगायतका विषयमा प्रशिक्षण दिईएको दलित समन्वय समिति बेनी नगरका सचिव गोकुल विश्वकर्माले जानकारी दिनुभयो ।
नगरपालिकाका १० वडाबाट गरि करिव ८५ जनाको सहभागीता रहेको कार्यक्रममा मन बहादुर चर्मकार, बल बहादुर विश्वकर्मा र याम किसानले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गत फागुन २ गते देखि सुरु भएको तीन महिने आधारभूत कम्प्युटर तालिमको पनि समापन गरिएको छ । समापन समारोहमा बेनी नगर कार्यपालिका सदस्य कुष्ण कुमार विश्वकर्माको प्रमुख रहेको थियो ।
कार्यक्रम दलित समन्वय समिति बेनी नगरपालिकाका अध्यक्ष लालु किसानको अध्यक्षता र बादल शाही र गोकुल विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम दलित समन्वय समिति बेनी नगरपालिका र संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दील संयुक्त रुपमा आयोजना गरेका थिए ।