म्याग्दी । विवाह भन्दा वित्तिकै सिंगारिएको घर, नौमति बाजा, सयौँको संख्यामा जन्ति, गरगहनाले सजिएकी दुलही, धेरै परिकारहरु सहितको भोजन सवैको मानसपटलमा आउने गर्दछ । तर शुक्रबार बेनीमा एउटा यस्तो विवाह भयो जहाँ उल्लेखित कुनै पनि कुराहरु थिएनन ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतका २४ वर्षीय धन बहादुर रोका समिर र बाग्लुङ जिल्ला वडा नम्वर ८ सिगाना निवासी २२ वर्षीय अमृता जिसीले म्याग्दी जिल्ला अदालतमा दर्ता गरि विवाह गर्नुभएको छ ।
उहाँहरुले दर्ता विवाह गर्र्नका लागि अदालतमा निवेदन दिनुभएको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा ८० को उपदफा २ बमोजिम विवाह दर्ता गरि जिल्ला अदालतका निमित्त स्रेस्तेदार शंकर सापकोटाले रोका र जिसीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
रोका नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको साधारण सदस्य, प्रेस चौतारी नेपाल म्याग्दीको उपाध्यक्ष, म्याग्दी प्रेस दैनिकका व्यवस्थापक हुनुहुन्छ । त्यस्तै उहाँ अनेरास्ववियुको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख तथा नेकपा एमाले बेनी नगर कमिटीका सदस्य हुनुहुन्छ ।
जिसी अनेरास्ववियु बाग्लुङकी सचिवालय सदस्य तथा नेकपा एमाले बाग्लुङ नगर कमिटीका पनि सचिवालय सदस्य हुनुहुन्छ । बिद्यार्थी राजनीतिमा सक्रिय रोका र जिसी विगत १ बर्षदेखि प्रेममा हुनुहुन्थ्यो । दुवै पक्षका परिवारलाई जानकारी गराई परिवारकै सहमति अनुसार अदालति विवाह ( कोर्ट म्यारिज ) गरेको रोकाले बताउनुभयो ।
विहेमा तामझाम गरि अनावश्यक खर्च गर्ने प्रचलनलाई हटाउनुपर्छ भन्ने सोचका साथ अदालतमा दर्ता विवाह गरेको दुलाहा रोकाको भनाई छ । अनावश्यक कुराहरु लगाएर, देखाएर समाजमा भड्किलो तवरले विवाह गर्ने संस्कार अंगाल्नेहरुलाई यसरी सामान्य तरिकाले अदालतबाट पनि विवाह गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको दुलही जिसीले बताउनुभयो ।
अध्ययन तथा वैदेशिक रोजगारीमा जानेहरु तथा देश र विदेशका नागरिक विचको विवाह बाहेक अदालतमा विवाह गर्ने चलन जिल्लामा निकै कम भएको स्रेस्तेदार सापकोटाले बताउनुभयो । जिल्लामा १ महिनामा एउटाका दरले दर्ता विवाह हुने गरेको उहाँको भनाई छ ।
नवविवाहित रोका र जिसीको जोडिलाई शभकामना तथा बधाई दिनका लागि नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, सन्तोष रावल, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव राजकुमार थापा, जिल्ला कमिटी सदस्य डिपी शर्मा, बेल बहादुर कटुवाल अदालत पुग्नुभएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, सल्लाहकार ठाकुर प्रसाद आचार्य, प्रेस चौतारी नेपाल म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्मा, अन्य पत्रकार तथा अखिलका सदस्यहरु अदालत पुगेर रोका र जिसीलाई बधाई तथा शुभकामना प्रकट गर्नुभएको थियो ।