म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सदरमुकाम बेनी बजारमा छाडा छोडिएका पशु –चौपायलाई व्यवस्थापन गर्ने भएको छ । बजारमा छाडा छोडिएका गाई, गोरु, बाच्छा–बाच्छीलाई चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
नगरपालिकाले शुक्रबार एक विज्ञप्ती नै जारी गरि आफ्ना घरपालुवा पशु चौपायलाई बजार क्षेत्रमा छाडा नछोड्न नगरबासीलाई अनुरोध गरेको छ । छाडा पशु चौपायलाई व्यवस्थापन गर्ने कार्य भईरहेकाले कसैको निजी घरपालुवा पशु पर्न गएमा सोको जिम्मेवारी नगरपालिका नहुने व्यहोरा पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हाल बेनी बजारमा छाडा छोडिएका २७ वटा पशुहरु रहेका नगर प्रमुख केसीले बताउनुभयो । ‘बजारमा पशु छाडा छोड्ने क्रम बढ्दै गएको छ, शनिबार मात्रै पनि २ वटा जर्सी वर गोरु बजारमा छोडिएको जानकारी आएको छ’ नगर प्रमुख केसीले भन्नुभयो, “यी सवै पशुहरुलाई गौशाला वा चरण क्षेत्रमा व्यवस्थापन गर्ने कार्य सुरु गरेका छौँ” ।
१० देखि १५ वटा गाई मुस्ताङको थासाङ गाउँपालिकाका किसानलाई दिने गरि मुस्ताङ पठाउन गाउँपालिका संग छलफल भईरहेको केसीले बताउनुभयो । ‘त्यहाँका किसानले गाईको गोवरलाई मल र दाउराको रुपमा समेत प्रयोग गर्ने गरि पालिका संग गाईको माग भएको रहेछ, हामीले पठाउने प्रयास गरेका छौँ” त्यसका लागि थासाङ गाउँपालिका संग छलफल अगाडि बढाईएको छ’ नगर प्रमुख केसीले भन्नुभयो ।
त्यस्तै शिखका एक कृषकले पनि आफ्नो घरमा पाल्नका लागि २ वटा गाई लैजाने भएका छन । कसैले घरमा लगेर पाल्न चाहेमा पशुको कानमा नम्वर ट्याक लगाई पठाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
बेनी बजारमा छाडा छोडिएका पशु –चौपायले ट्राफिक व्यवस्थापन, तरकारी तथा फलफुल व्यवसायी एवम् पैदलयात्रीहरुलाई समेत बेला बेलामा सास्ती दिने गरेको छ । छाडा पशुलाई व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न बजारबासीहरुलाई नगरपालिकाले अनुरोध समेत गरेको छ ।