म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री नरदेवि पुनले सरकारी कार्यालयहरुले किसानले उत्पादन गरेको वस्तुको आधारमा अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार मंगला गाउँपालिकाको १३ औँ गाउँसभाको उद्घाटन गर्दै पूर्व मन्त्री पुनले अनुदान पाएकाले उत्पादन नगरेको अथवा कम उत्पादन गरेको र धेरै उत्पादन गरेकाहरुले कम अनुदान पाएको देखिएकाले कृषि, पशु तथा अन्य क्षेत्रमा अनुदान दिदा वस्तु उत्पादनको आधारमा दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले मंगला गाउँपालिकामा पनि यो व्यवस्था लागु गर्न आग्रह गर्दै अनुदान रकमको सहि सदुपयोग भएको छ कि छैन भनेर निरन्तर अनुगमन गर्न समेत अनुरोध गर्नुभएको छ । गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा सुझाव दिदै पुनले सामुदायीक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति संगै अभिभावकहरुका लागि पनि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यार्थीलाई घरमा पढ्ने वातावरण सृजना गराउन अभिभावकको महत्वपूर्ण भूमिका हुने उहाँको भनाई थियो । मंगला माविमा प्राविधिक धारका कक्षा संचालनका लागि पालिकाले बजेट विनियोजन गरेको प्रति खुसि व्यक्त गर्दै पुनले कृषि प्राविधिक शिक्षाबाट उत्पादित जनशक्तिलाई बाँझो जग्गा उपयोगमा परिचालन गर्न आग्रह गर्नुभएको छ ।
पूर्वमन्त्री पुनले नसर्ने रोगहरुको बारेमा पूर्व सचेतनाका कार्यक्रम संचालन गर्न, आमा समूहलाई उत्पादन संग जोड्ने, युवाहरुलाई उद्यम संग जोड्ने खालका कार्यक्रम संचालन गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
विदेशबाट फर्किएका युवाहरुको लगत निकाली उनिहरुको सिप र क्षमतालाई प्रोत्साहन तथा परिचालन गरि अन्य युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम बनाउन पुनले अनुरोध गर्नुभयो । विनियोजित बजेटलाई सतप्रतिशत कार्यान्वयन गराउन आग्रह गर्दै पालिकाको श्रोत सिमित भएको तर जनताको आशा असिमित भएकाले समस्यालाई प्राथमिकिकरण गरेर काम गर्नुपर्ने पुनको भनाई थियो ।
गाउँसभाकै अवसरमा गाउँपालिकाका पूर्व जनप्रतिनिधिलाई समेत सम्मान गरि विदाई गरिएको छ । कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु वडा नम्वर १ का अध्यक्ष डेक बहादुर राम्जाली, कार्यपालिका सदस्य रत्न बहादुर विश्वकर्मा, वडा सदस्य चक्रलाल पाण्डे राजु, डिल कुमारी खत्री लगायतले जनताको गालीलाई ताली सम्झेर ईमान्दारिता, अनुशासित र सक्रियताका साथ जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो ।
आवश्यकता परेको खण्डमा आफुहरुबाट सधै साथ सहयोग रहने पनि उहाँहरुको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीको उपप्रमुखमा वडा नम्वर १ का वडा सदस्य डिल कुमारी खत्री र सदस्यमा वडा नम्वर ५ बाट निर्वाचित वडा सदस्य कविता विश्वकर्मा निर्वाचित हुनुभएकोमा वधाई समेत ज्ञापन गरिएको थियो ।