मगर संघ म्याग्दीद्वारा मगर जनप्रतिनिधिलाई सम्मान

म्याग्दी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले साउने संक्रान्तिको अवसरमा जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

आइतवार मगर संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जिल्लाको ६ वटै पालिकामा निर्वाचित भएका मगर जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन सहित सम्मान गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख, ४ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, २७ जना वडा अध्यक्ष सहित ११८ जना मगर जनप्रतिनिधिलाई सम्मान गरिएको नेपाल मगर संघ म्याग्दीका सचिव खम थापाले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिलाई मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाईजा र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले भाङ्ग्रा, फेटा, अविर, खादा र सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राज कुमार थापाले जिल्लाको धेरै जसो कला, संस्कृति मगर समुदायसंग निहित भएको भन्दै यसको संरक्षण र सम्वद्र्धनका लागि सहयोग गर्ने बताउनुभयो ।

आफ्नै भाषा, आफ्नै भेषभूषा र आफ्नै संस्कृति रहेका म्याग्दीका मगरहरुले लाहुरेको उपमा पाएपनि पछिल्लो समय राजनैतिक संगै सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि अगाडि बढिरहेको बताउनुभयो ।

थापाले मगरहरुले आफ्नो पहिचान र संस्कृतिलाई जोगाइराख्न पनि सम्पूर्ण मगरहरुलाई आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना मगरले जिल्लामा मगरहरुको एकता, संस्कृति र रहनसहनले आफुलाई आकर्षित गराएको बताउनुभयो ।

प्रजिअ रानाले गाउँपालिकाहरुमा मगर समुदायको खास तथ्याङ्क निकाली उनिहरुको परम्परागत सिप, कला र क्षमताको विकास तथा संरक्षणका कार्यक्रम संचालन गर्न आवश्यकता औँल्याउनुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले निजामतिको क्षेत्रमा मगरहरुको उपस्थिति कम भएकाले नयाँ पिँढीले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा राख्नुभयो ।

मगर समुदायमा विदेशीने युवाहरुको संख्या वढि रहेकाले अव सरकारी सेवाका लागि पनि ध्यान दिनु पर्ने थापाको भनाई थियो ।

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, अन्नपूर्णका अध्यक्ष भरत पुन, मालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा र धवलागिरीका अध्यक्ष प्रेम पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साउने संक्रान्तिको विशेष अवसरमा मगर संघका कलाकारहरुद्वारा पुख्यौली गीत, नृत्य र थाली नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम मगर संघ म्याग्दीका अध्यक्ष पाईजाको अध्यक्षता, समन्वय प्रमुख थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष लोकेश पुनको स्वागत र सचिव खम थापा र सहसचिव हिरा पुनको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

बेनीमा अनेमसंघको राजनैतिक प्रशिक्षण

म्याग्दीका ६ वटा पालिकामा ५ करोड बढि बेरुजु

Related posts