म्याग्दी । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्थापना गरेको बहुउद्देश्यीय अक्षयकोष सञ्चालन गर्न समिति गठन भएको छ । मोना कतारका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक विक्रम कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक प्रेम रसाइली, पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक रमेश पौडेल, निवर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार तिलु शर्मा पौडेल, सल्लाहकार लीला बहादुर चोखाल रहनुभएको छ । त्यस्तै वर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र फगामी पदेन सदस्य रहनुभएको छ ।
म्याग्दी जिल्ला भित्र आइपर्ने प्राकृतिक प्रकोप तथा विपत्तीका समयमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको गरिएको थियो ।
कोष सञ्चालन गर्न गठित समितिमा संस्थागत योगदानको कदर गर्दै जिल्लामा रहेका केही व्यक्तिलाई पनि समेटी सशक्त रूपमा अगाडी बढ्ने संयोजक कार्कीले बताउनुभयो ।
सदरमुकाम बेनी स्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थामा रहेको कोषमा हाल सम्म करिव ११ लाख रकम संकलन भएको र त्यसलाई अझै फराकिलो बनाउँदै लगिने संयोजक कार्कीले बताउनुभयो ।
उहाँले जिल्लामा विपत आईपर्दा हरेक पटक कतारमा सहयोग उठाउनु पर्ने बाध्यकारी परिस्थितिलाई कोषले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले कोषको रकम बढाउँदा ब्याज पनि धेरै नै प्राप्त हुन्छ, कार्कीले भन्नुभयो, “अवदेखि विपतको बेला व्याजको रकम सहयोग गछौँ तत्कालै चन्दा उठाउनु पर्दैन” ।
सन् २०१९ बाट अक्षयकोषको लागि मोना कतारले गृहकार्य शुरु गरे पनि २०२१ मा कोषको स्थापना भएको संघका अध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो । उहाँले कोष सञ्चालन समिति मार्फत जिल्लाका हरेक दुखमा मोना कतार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन् २००३ मा स्थापना भएको सामाजिक संस्था मोना कतारले जिल्ला तथा कतारमा विभिन्न समस्यामा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।