म्याग्दी । म्याग्दीका भलिबल पशिक्षक तेजेन्द्र बानियाँ बाग्लुङमा सम्मानित हुनुभएको छ । नेपाली सेना श्री श्रीमेहर गण घोडाबांधे व्यारेक बागलुङले विहिवार एक कार्यक्रमको आयोजना गरि बानियाँलाई सम्मान गरेको हो ।
गणको भलिबल टिमको प्रशिक्षकको रुपमा उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै बानियाँलाई प्रमुख सेनानी गणपति देवभक्त माडी श्रेष्ठ र खेल समन्वय अधिकृत सेनानी अर्थ जंग बहादुर सिंहले सम्मान पत्र प्रदान गरि नगद सहित सम्मान गर्नुभएको हो ।
बानियाँले श्रीमेहर गण घोडाबाँधे व्यारेकका आर्मी खेलाडीहरुलाई १ महिना सम्म भलिबल सम्वन्धी ज्ञान सिप र अनुशासन लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बेनी नगरपालिका वडा नम्वर ९ घतान हाल गलेश्वर निवासी बानियाँले भारतको बैंगलोरबाट सन २०१९ मा भलिबल प्रशिक्षक कोर्ष पुरा गर्नुभएको छ । त्यस्तै उहाँले २०७५ सालमा राष्ट्रिय भलिबल रेफ्री रिफ्रेसर कोर्ष समेत लिनुभएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशद्वारा संचालित ३ महिने सहायक प्रशिक्षक कोर्ष पुरा गर्नुभएका बानियाँले अन्य विभिन्न तालिमहरुमा समेत सफलताका साथ सहभागी हुनुभएको छ ।
बानियाँले नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगीतमा ३ विदेशी अन्तराष्ट्रिय खेलाडी समेत रहेका राष्ट्रिय क्लव टिपटप हेल्प नेपाल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पुरा गरि उपविजेताको पुरस्कार हात पार्न सफल बनाउनुभएको थियो ।
२०७३ मा नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा गण्डकी प्रदेशको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।
२०६७ मा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत तत्कालिन क्षेत्रीय खेलमा म्याग्दी जिल्ला टिम कप्तानको रुपमा पनि बानियाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनु भएको थियो ।
सातौँ र आठौँ प्रतियोगीतामा म्याग्दी महिला टिमलाई प्रथम स्थान हासिल गर्दा प्रशिक्षको भुमिकामा बानियाँ रहनुभएको थियो । उहाँ भलिबल विकासका लागि प्रशिक्षको रुपमा म्याग्दीको विभिन्न गाउँपालिका, विद्यालय, क्लवका युवा खेलाडीहरुलाई प्रशिक्षण, तालिम दिदै छिमेकी जिल्ला बाग्लुङ, पर्वत, मस्ताङ, कास्की लगायतका ठाउँहरुमा र नेपाली सेनाको श्रीवक्स गुल्म म्याग्दी, विरदल गण रौतहट, पश्चिामाञ्चल पृटना टिम पोखरा, श्रीमेहर गण बाग्लुङ लगायतका ठाउँहरुमा पुग्नुभएको छ ।
भलिबल खेल विकास तथा खेलाडी उत्पादन गर्नका लागि आधरभूत सिप तथा अनशासनमा आधारित रहेर प्रशिक्षण दिदै आएका भलिबल प्रशिक्षक बानियाँ हालै मात्र जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा निर्वाचित भई जिल्लाको भलिबल खेल क्षेत्रको नेतृत्व गरिरहनुभएको छ ।