म्याग्दी । नेकपा एमालेको जनवर्गीय संगठन मानव अधिकार एलाइन्सले नागरिकता विधेयकमा आवश्यक संशोधनको माग गर्दै ज्ञापन पत्र पठाएको छ । आईतवार म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापन पत्र पठाईएको हो ।
एलाइन्सका जिल्ला अध्यक्ष दिपक पौडेलले बुझाउनुभएको ज्ञापन पत्रमा राष्ट्रपतिले १५ वटा सुझाव सहित फिर्ता पठाएको विधेयकमाथि संसदमा छलफल नचलाई बहुमतको नाममा राजनैतिकढंगले पास गराउनु संविधानको ठाडो उलंघन भएको उल्लेख गरिएको छ ।
गठवन्धनको यो घिनलाग्दो राजनीतिले संविधान अनुसार स्थापित राष्ट्र प्रमुखको गरिमामा समेत आँच पुग्ने कार्य भएको एलाइन्सले ठहर गरेको छ ।
त्यस्तै संक्रमणकालीन न्याय सम्वन्धी संशोधन विधेयमा गरिएको व्यवस्था प्रति पनि एलाइन्सको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ । यस व्यवस्थाले न्यायको पखाईमा लामो समय सम्म रहेका द्वन्द्व पीडितको मानमर्दन हुने र पीडकहरुलाई सहज उन्मुक्ति दिने देखिएकाले यो विधेयकको तुरुन्त संशोधन वा खारेजी हुनुपर्ने एलाइन्सको माग रहेको छ ।
नागरिकता जस्तो सवैको अपनत्व र अधिकार सुनिश्चित हुने बिषयमा बनेको विधेयक पास गराउदा राष्ट्रिय सहमति नगराई बहुमतको आधारमा संसदबाट पास गराउनु र राष्ट्रपतिको सुझावलाई समेत बेवास्ता गर्नु लोकतन्त माथिको प्रहारको संकेत हो, विज्ञप्तीमा भनिएको छ ।
साथै गठवन्धनको सरकारको गलत निर्णयको घोर विरोध गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका लागि एकै ठाउँमा उभिएर यसको विरुद्धमा आवाज उठाउन नागरिक समाज, मानवअधिकारकर्मी, वुद्धिजीवि लगायतमा अपिल समेत गरिएको एलाइन्सका जिल्ला अध्यक्ष पौडेलले बताउनुभयो ।
विज्ञप्तीमा एलाइन्स संगै द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दी, प्रेसचौतारी नेपाल म्याग्दी, अखिल नेपाल महिला संघ म्याग्दी र राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीको पनि एकेवद्धता रहेको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिव तथा जनसंगठन समन्वय सयन्त्रका संयोजक थमसरा पुनको विशेष उपस्थिति रहेको थियो ।